;

सुन्दरहरैँचा/ सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा उद्योगी, व्यवसायी तथा मजदुरलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण तथा टिटनास (टीटी) खोप कार्यक्रम सञ्चालन गरिएको छ।

संघको आयोजना तथा सुकुना सामुदायिक अस्पताल र लोक मेडिकल क्लिनिक एन्ड ल्याब, सुन्दरहरैँचा–१० विराटचोकको सहकार्यमा भएको कार्यक्रममा निःशुल्क सुगर तथा रक्तचाप परीक्षण, टीटी खोप र जनरल फिजिसियनबाट स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको हो।

नगर क्षेत्रमा रहेका ग्रिल उद्योग, फर्निचर तथा हार्डवेयर पसलमा कार्यरत मजदुर, व्यवसायी तथा सञ्चालकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताए ।

कामका क्रममा चोटपटक लाग्ने सम्भावना बढी हुने भएकाले मजदुर तथा व्यवसायीलाई टिटनासबाट सुरक्षित राख्ने उद्देश्यले टीटी खोपसमेत सञ्चालन गरिएको अध्यक्ष कार्कीले उल्लेख गरे ।

उनका अनुसार अहिले टीटी खोप लगाएकालाई आगामी महिनामा पुनः खोप लगाइनेछ भने त्यसपछि एक वर्षमा अर्को मात्रा लगाउने व्यवस्था गरिनेछ। स्वास्थ्यप्रति सचेतना बढाउँदै व्यवसायी तथा श्रमिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

;