;

मणिराम दाहाल / सुन्दरहरैँचा

मोरङको सुन्दरहरैँचा नगरपालिकामा स्थानीय तहबाटै भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा सुचारु भएपछि नगरवासीलाई सहज भएको छ।

नगरपालिकाको भूमि व्यवस्थापन शाखामार्फत सेवा प्रवाह सुरु भएसँगै जग्गा तथा भूमि व्यवस्थापनसम्बन्धी विभिन्न कामका लागि अन्य पालिका तथा टाढाका कार्यालय धाउनुपर्ने सेवाग्राहीको बाध्यता अन्त्य हुँदै गएको छ। नगरपालिकाले भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा स्थानीयस्तरबाटै उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालनमा ल्याएको हो। सेवा सुरु भएपछि जग्गा पास, नक्सा प्रिन्ट, कित्ताकाट, कित्ता एकीकरण, घर कायम तथा दृष्टिबन्धक रोक्कालगायतका काम नगरपालिकाबाटै हुन थालेका छन्।

सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले नगरवासीलाई स्थानीयस्तरबाटै सहज, सरल र प्रभावकारी रूपमा भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको बताए। उनले आवश्यक कागजातसहित सम्बन्धित शाखामा सम्पर्क गरी सेवा लिन सेवाग्राहीलाई आग्रह गरे। नगरप्रमुख गुरागाईंले स्थानीय तहबाटै सेवा उपलब्ध हुँदा सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै सेवा प्रवाहमा थप सहजता र प्रभावकारिता आउने बताए। उनले नगरपालिकाले नागरिकलाई घरदैलोमै गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखेको उल्लेख गरे।

सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै सेवाग्राहीको समय तथा लागत बचत गर्ने लक्ष्य लिइएको बताए। स्थानीयस्तरबाटै सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई टाढा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुका साथै नगरपालिकाको सेवा प्रवाहमा समेत नयाँ आयाम थपिएको उनले जानकारी दिए।

नगरपालिकाका अनुसार २०८३ असोज ५ गतेदेखि असोज १३ गतेसम्म भूमि प्रशासन तथा व्यवस्थापन शाखाबाट विभिन्न सेवा प्रवाह भएका छन्। उक्त अवधिमा जग्गा पासतर्फ राजीनामा ३१, बकस ५ र अंश २ गरी ६८ वटा काम सम्पन्न भएका छन्। त्यस्तै, असोज १३ गतेसम्म १९ वटा रजिष्ट्रेशन पास भएका छन्। यस अवधिमा सुन्दरहरैँचा नगरपालिकाभित्र क्षेत्राधिकार भएका सहकारी संस्थातर्फ ६ वटा दृष्टिबन्धक रोक्का तथा बैंक तथा वित्तीय संस्थातर्फ १ वटा दृष्टिबन्धक रोक्का गरिएको नगरपालिकाले जनाएको छ। त्यसैगरी २१८ वटा नक्सा प्रिन्ट, १० वटा कित्ताकाटका काममध्ये ६ वटा स्वीकृत, १ वटा कित्ता एकीकरण तथा २ वटा घर कायम गरिएको विवरण नगरपालिकाले सार्वजनिक गरेको छ।

स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीले समय र आर्थिक खर्च बचत गर्न पाएका छन्। यसअघि भूमि प्रशासनसम्बन्धी कामका लागि अन्य पालिका तथा टाढाका कार्यालयसम्म पुग्नुपर्ने अवस्था रहेकामा अहिले नगरपालिकाबाटै सेवा प्राप्त हुन थालेपछि नागरिकको आवतजावत समेत सहज भएको छ।

सेवा सञ्चालनसँगै नगरपालिकामा सेवाग्राहीको चहलपहल बढेको छ भने स्थानीय बजार तथा व्यवसायमा समेत आर्थिक कारोबार बढ्न थालेको व्यवसायीहरू बताउँछन्। सेवाग्राहीले भूमि प्रशासनसम्बन्धी कामका लागि नगर बाहिर जानुपर्ने अवस्था कम हुँदा स्थानीयस्तरमै समय बिताउने र खर्च गर्ने क्रम बढेको छ।

नगरपालिकाले भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवालाई थप व्यवस्थित बनाउँदै आवश्यक जनशक्ति, प्रविधि र पूर्वाधारको प्रभावकारी व्यवस्थापनमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिने जनाएको छ। स्थानीयस्तरबाटै यस्ता सेवा उपलब्ध हुन थालेपछि सुन्दरहरैँचाको प्रशासनिक सेवा प्रवाहसँगै विकास निर्माण र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

;