;

सुन्दरहरैँचा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी निरीक्षक दिवश रिमाललाई २०८३ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (BEST POLICE OF THE MONTH) घोषणा गरेको छ।

प्रहरी निरीक्षक रिमालले पदीय कर्तव्य निर्वाहका क्रममा उच्च मनोबल, व्यावसायिकता, अनुशासन र कर्तव्यनिष्ठता प्रदर्शन गरेको भन्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो। भदौ ५ गते इलाम नगरपालिका–७, कुलधारा स्थित कुवेरप्रसाद शर्माको घरमा रहेको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा सोही स्थानका ४७ वर्षीय रामसी डोम ट्याङ्कीभित्र अचेत अवस्थामा रहेको जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक रिमालको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।
घटनास्थल पुगेपछि प्रहरी निरीक्षक रिमालले जोखिम मोलेर सेफ्टी ट्याङ्कीभित्र प्रवेश गरी अचेत अवस्थामा रहेका डोमलाई सकुशल उद्धार गरेका थिए। उद्धार कार्यमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरीले जनाएको छ।

कर्तव्य निर्वाहका क्रममा उच्च जोखिम मोलेर नागरिकको जीवन रक्षा गर्नुका साथै अनुशासित, व्यावसायिक तथा कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गरेको र आम नागरिकमा सुरक्षाको अनुभूति गराउन तथा प्रहरी संगठनको गरिमा र श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै रिमाललाई भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

;