;

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–७, गोठगाउँस्थित सामुदायिक मिलन केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीको आयोजनामा भएको शिविरमा मधुमेह (चिनी रोग) परीक्षण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो। “शिक्षित बनाऔं, सशक्त बनाऔं, मधुमेह अन्त्य गरौं” भन्ने मूल नारासहित आयोजित शिविरमा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा स्वास्थ्यकर्मीहरूले सहभागीहरूको रगतमा चिनीको मात्रा परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श दिएका थिए।

लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीका अध्यक्ष अनुरोध साहले यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “मधुमेह जस्ता दीर्घरोगको समयमै पहिचान र सचेतना आवश्यक भएकाले क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत यो शिविर आयोजना गरेको हो। आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिनेछौं।”

शिविर बिहान ११ बजेदेखि सञ्चालन भएको थियो। स्थानीय बासिन्दाले शिविरबाट प्रत्यक्ष लाभ लिनुका साथै आयोजकप्रति धन्यवाद व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया

;