सुन्दरहरैंचा / मोरङ सुन्दरहरैंचा–३ गछियामा रहेको गछिया युवा समाजद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकप २०८२ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ।
शनिबार आयोजित कार्यक्रममा प्रतियोगिताबाट करिब ५० लाख २५ हजार रुपैयाँ आम्दानी भएको जानकारी दिइयो। प्रतियोगिता सञ्चालनमा ४२ लाख ५७ हजार रुपैयाँ खर्च भएको र केही रकम अझै उठ्न बाँकी रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रायोजक, स्थानीय निकाय, संघसंस्था तथा टिकट बिक्रीबाट आर्थिक सहयोग जुटाइएको थियो।
खेल संयोजक प्रलाहद थोप्राले पहिलो संस्करणले अपेक्षाभन्दा राम्रो सफलता पाएको उल्लेख गर्दै आगामी संस्करणलाई अझ व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी भइरहेको बताए।
समाजका अध्यक्ष सरोज दाहालले पारदर्शितालाई प्राथमिकता दिँदै सार्वजनिक रूपमा आर्थिक विवरण प्रस्तुत गरिएको जानकारी दिए। आयोजकले आगामी गोल्डकपमा विदेशी टोलीको सहभागिता बढाउने तथा पुरस्कार राशि वृद्धि गर्ने योजना रहेको जनाएको छ।





