;

सुन्दरहरैँचा / मोरङ सुन्दरहरैँचा–१० स्थित हिमालय इङ्ग्लिस स्कुलको आयोजनामा दीक्षान्त समारोह, नयाँ विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम बुधबार भव्य रूपमा सम्पन्न भएको छ।

विद्यार्थीहरूको सम्मान, प्रोत्साहन तथा नयाँ शैक्षिक यात्रालाई उत्साहजनक बनाउने उद्देश्यले विद्यालय परिसरमा २०८३ सालको ग्राजुएसन सेरेमोनी, नयाँ विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा–१२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले हिमालय इङ्ग्लिस स्कुलले शैक्षिक क्षेत्रको विकासमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए। उनले विद्यार्थीहरूलाई अनुशासित, नैतिकवान र जिम्मेवार नागरिकका रूपमा तयार पार्न विद्यालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै शिक्षा समाज परिवर्तनको प्रमुख आधार भएको धारणा व्यक्त गरे। आधुनिक प्रविधिसँगै संस्कारयुक्त शिक्षाको आवश्यकता औँल्याउँदै उनले विद्यार्थीहरूलाई लक्ष्यप्रति दृढ रहँदै अध्ययनमा केन्द्रित हुन आग्रह गरे। स्थानीय तहले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि निरन्तर सहकार्य गरिरहेको पनि उनले जानकारी दिए।

विद्यालयका प्रिन्सिपल कमल खनालका अनुसार कार्यक्रममा अध्ययनमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने नयाँ विद्यार्थीहरूलाई विद्यालय परिवारसँग आत्मीय सम्बन्ध स्थापित गर्ने वातावरण सिर्जना गर्दै स्वागत गरिएको थियो। विद्यालय केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन, सिर्जनशीलता तथा नेतृत्व क्षमताको विकासमा समेत केन्द्रित रहेको उनले बताए। हरेक वर्ष विद्यार्थीहरूको मनोबल उच्च बनाउन यस्ता कार्यक्रम आयोजना गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उत्कृष्ट शैक्षिक वातावरण निर्माणका लागि विद्यार्थी, अभिभावक तथा शिक्षकबीचको सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।

कार्यक्रमका विशिष्ट अतिथि नेसनल प्याब्सन मोरङका उपाध्यक्ष पर्बत राईले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए। हिमालय इङ्ग्लिस स्कुलले शैक्षिक उपलब्धिसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा ध्यान दिएको भन्दै उनले प्रशंसा गरे।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, अभिनय तथा विभिन्न सिर्जनात्मक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप आकर्षक र जीवन्त बनाएको सहभागी अभिभावकहरूले बताएका थिए। विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सम्मानित विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। विद्यालयले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया

;