;

✍️ कृष्णविनाेद लम्साल

अहिले मभित्रको अज्ञानता छटपटाएर उठेको छ
छातीभित्र नटाई असह्य भएर दुखेको छ
मैले बल्ल थाहा पाएँ
मलाई ज्ञानको भोक लागेको छ
ज्ञानको तिर्खा जागेको छ ।

कहिले पुराण-वाचन गर्दै गरेका पण्डितकहाँ धाएँ
कहिले व्याख्यान गर्दै गरेका प्रवक्तासमिप गएँ
एकान्तमा घोत्लिएर बसें
भीडमा हेलमेल गर्दै पसें
आस्थाका पुञ्यले ज्ञानको ज्योति जगाउँछ भन्छन्
तथापि ज्ञानको भोक मेटिएन
ज्ञानको तिर्खा रोकिएन ।

कहिले छङछङ गर्ने छाँगानजिक गएँ
कहिले रूखकाे हाँगामा बसेर मनको बह धोएँ
कहिले शून्य आकाशलाई पूजा गरेँ
कहिले स्रष्टा बन्न काव्यकलाको आराधना गरेँ
पशुको उग्राउँदाे मुखमा गएर खोजें
उड्दै गरेका चराका ख्वाँटमा पनि टोलाएर हेरेँ
पोखरीको डिलमा बसेर पानीको तरङ्गलाई सोचेँ
हावासँग उड्दै गरेको पत्करमा रूप खोजेँ
आफ्नी प्रियतमाको हँरिलो मुस्कान र
मीठो वचनलाई सोधेँ
तथापि ज्ञानको भोक मेटिएन
ज्ञानको तिर्खा रोकिएन ।

नवीनतम सिर्जनाले ज्ञानको पत्रपत्र केलाउँछ भन्छन्
म अन्यन्तरताको जड्गार तर्न सकिरहेको छैन ।

त्यसबेला एकजना ज्ञानीले आएर भने
सहस्राब्दीयौँदेखि सहस्र पुस्तकहरूमा
ज्ञानगङ्गा बगिरहेछन्
मठ, मन्दिर चैत्य र मस्जिदहरू
ज्ञानको ज्योति छरिरहेका छन्
ज्ञानको खोजीमा मान्छे देश-देशाटन गरिरहेछन्
ज्ञानको अथाह भण्डार सम्झिएर आकाश पुजिरहेछन् ।

युगौँ बितेर गए
पुस्तौँपुस्ता समर्पित भए
शताब्दीदेखि जागेको भोक हटेको छैन
तिर्खा घटेको छैन ।

मेरा पुर्खाले भनेका धेरै कुराहरू
उपदेश मात्र होइन
ज्ञानको भोक-तिर्खा मेटाउने रहेछन्
म अहिले बल्ल बुझिरहेको छु ।

– इटहरी

तपाईको प्रतिक्रिया

;