मणिराम दाहाल / सुन्दरहरैँचा

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना खेलमैदानमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको खार्साङ लिजेन्ट टोलीले जितेको छ।

सम्पन्न फाइनल खेलमा झापाको दुधे भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै खार्साङ लिजेन्ट च्याम्पियन बनेको हो। खेलको निर्णायक गोल खार्साङका सोनाम चोङले गरेका थिए। उनले गरेको एकमात्र गोल नै टोलीलाई उपाधि दिलाउन पर्याप्त बन्यो। खेलभर दुधे भेट्रानमाथि दबाब सिर्जना गरेको खार्साङले आक्रामक प्रदर्शन गरेको थियो। झापाले केही उत्कृष्ट अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा उपविजेतामै सीमित हुनुपरेको थियो। समापन कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथिका रूपमा सहभागी हुँदै यस्ता प्रतियोगिताले स्थानीय खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। नगरपालिकाले खेलकुद क्षेत्रको प्रवर्द्धनमा निरन्तर सहयोग गर्दै आएको उनले उल्लेख गरे।

प्रतियोगितामा खार्साङका सुरज लामा उत्कृष्ट गोलरक्षक घोषित भए भने फाइनल खेलका म्यान अफ द म्याच सोनाम चोङ घोषित भए। मिल्स भेट्रानका तेजमान लिम्बू प्रतियोगिताको उच्च गोलकर्ता बने।
विजेता तथा उपविजेता टोलीलाई नगरप्रमुख गुरागाईं, आयोजक विराट भेट्रान क्लबका अध्यक्ष राजन योञ्जन, नगर प्रवक्ता रोशन ढकाल, नगर खेलकुद विकास समिति सदस्य सचिव खड्ग श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए।

विराट भेट्रान क्लब, सुन्दरहरैँचाको आयोजनामा चैत २१ देखि २८ गतेसम्म भएको प्रतियोगितामा आयोजक विराट भेट्रान क्लबसहित काँकडभिट्टा भेट्रान (झापा), दुधे भेट्रान (झापा), हाम्रो धरान भेट्रान (सुनसरी), भराैल भेट्रान (सुनसरी), दार्जिलिङ भेट्रान (भारत), पथरी भेट्रान (मोरङ) र मिल्स भेट्रान (मोरङ) गरी आठ टोलीको सहभागिता रहेको थियो।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालगायत विभिन्न विधागत पुरस्कार पनि प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रम सञ्चालन सचिव रञ्जन शर्मा, म्याच कमिस्नर दुर्गाकुमार श्रेष्ठ तथा मानार्थ सदस्य खगेन्द्र थापा लगायतको उपस्थिति रहेको थियो। प्रतियोगिताको मुख्य प्रायोजक पूर्वाञ्चल ल्युब आयल प्रालि (PIO) रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया