सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित श्रीकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा बृहत मोटरसाइकल र्याली सम्पन्न गरिएको छ।
स्वर्ण महोत्सव मूल समारोह समितिको आयोजनामा तथा मोटरसाइकल र्याली व्यवस्थापन उप–समितिको संयोजनमा आयोजित र्याली बिहान ८ बजे सलकपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिर (विराटचोक) बाट सुरु गरिएको थियो।धार्मिक तथा सांस्कृतिक एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको र्यालीमा स्थानीय युवाहरू, भक्तजन तथा नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको आयाेजक समितिका कार्यक्रम निर्देशक रामप्रसाद गजुरेलले उल्लेख गरे ।
सहभागीहरूले धार्मिक झण्डा र नारासहित नगरका विभिन्न स्थानको परिक्रमा गर्दै उत्साहपूर्ण उपस्थिति जनाएका थिए। आयोजक समितिका प्रचारप्रसार संयोजक शरण भट्टराईका अनुसार अन्तर्राष्ट्रिय स्वर्ण महोत्सव २०८३ वैशाख ७ गतेसम्म सञ्चालन हुने १०८ पारायण कार्यक्रमको पावन अवसरमा र्याली आयोजना गरिएको हो।
र्यालीले धार्मिक सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ। कार्यक्रममा सहभागी सम्पूर्णलाई आयोजकले धन्यवाद ज्ञापन गर्दै महोत्सवका आगामी कार्यक्रमहरूमा पनि सक्रिय सहभागिताको आह्वान गरेको छ।





