मणिराम दाहाल / सुन्दरहरैँचा

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर सेवा आश्रममा अन्तरराष्ट्रिय धार्मिक महोत्सव आयोजना हुने भएको छ।

मन्दिर स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सवको रूपमा आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ। श्रीकृष्ण प्रणामी संरक्षण सेवा समितिले मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो। कार्यक्रम निर्देशक रामप्रसाद गजुरेलका अनुसार सात दिनसम्म चल्ने महोत्सवमा देश तथा विदेशबाट हजारौं भक्तजन, सन्त-महात्मा, धर्माचार्य तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

महोत्सवमा १०८ श्रीमत तारतम सागर पाठ पारायण, वाणी चर्चा, श्रीमद् भागवत कृष्ण कथा ज्ञान महायज्ञ, सन्त सम्मेलन लगायत विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ। भागवत कथावाचन नौतन्पुर धामका विख्यात कथाकार स्वामी लक्ष्मणदेवजी महाराजले गर्ने कार्यक्रम रहेको छ। यस अवसरमा नौतनपुरी धामबाट धर्माचार्य अनन्त श्री विभूषित जगतगुरु कृष्णमणिजी महाराज, महामंगलापुरी धाम सुरताका गादिपति जगतगुरु आचार्य अनन्त श्री विभूषित सूर्यनारायण दासजी महाराज, श्री ५ पद्मावातिपुरी धाम मन्दिर ट्रस्टका परमहंस श्री १०८ सदानन्दजी महाराज लगायत राष्ट्रिय तथा अन्तरराष्ट्रिय सन्त, विद्वान तथा धर्माचार्यहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।

महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम तय गरिएको छ। महोत्सव अवधिभर दैनिक पूजापाठ, योग, ध्यान, चिन्तन, भजन-कीर्तन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ। पत्रकार सम्मेलनमा मन्दिर संरक्षण सेवा समितिका अध्यक्ष कृष्णप्रसाद वास्तोला, कार्यक्रम निर्देशक रामप्रसाद गजुरेल, सुन्दरहरैँचा नगरपालिकाका पूर्व नगर प्रमुख शिवप्रसाद ढकाल, सन्त महाराज मोहनानन्द शास्त्री लगायतले महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार महोत्सव सञ्चालनका लागि करिब २ करोड १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महोत्सवमार्फत संस्कृत शिक्षा सञ्चालन गर्न गुरुकुल निर्माण गर्ने दीर्घकालीन लक्ष्यसमेत राखिएको छ। साथै आगन्तुक धार्मिक पर्यटकलाई नगरका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको भ्रमण गराउने योजना रहेको जानकारी दिइएको छ। महोत्सवको प्रचारप्रसार संयोजक शरण भट्टराई रहेका छन् । कार्यक्रम महासचिव युवराज पौडेलले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया