सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–सलकपुरस्थित नागदेवी मन्दिर आज विधिपूर्वक स्थानान्तरण गरिएको छ।
एशियन हाईवे निर्माणका क्रममा नागथान सडकको बीच भागमा परेपछि मन्दिर सार्नुपरेको संस्थाका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिएका छन्। मन्दिर स्थानान्तरणअघि धार्मिक परम्पराअनुसार विशेष क्षमा पूजा सम्पन्न गरिएको थियो। स्थानीय भक्तजन तथा सरोकारवालाको उपस्थितिमा पूजा गरी नयाँ स्थानमा मन्दिर सारिएको हो।
विभिन्न दाताहरूको आर्थिक तथा भौतिक सहयोगमा नागस्थान निर्माण भएको हाे । नयाँ संरचनामा विधिपूर्वक पूजा–आराधना गरी नागदेवी मन्दिरलाई औपचारिक रूपमा स्थापना गरिएको अध्यक्ष खड्काले बताए।एशियन हाईवे निर्माण कार्यलाई सहज बनाउने उद्देश्यले मन्दिर स्थानान्तरण गरिएको स्थानीयवासीले बताएका छन्। नयाँ स्थानमा पनि नियमित पूजा तथा धार्मिक गतिविधि सञ्चालन हुने जनाइएको छ।





