सुन्दरहरैँचा / मोरङ, सुन्दरहरैँचा–९ स्थित बाल सदन एकेडेमीमा विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा नृत्य, गायन, कथा वाचन तथा प्रत्यक्ष चित्रकला जस्ता विविध विधामा विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए। कार्यक्रममा प्रस्तुत गरिएका नृत्यहरूले दर्शकहरूलाई अचम्मित बनाएका थिए भने गायन प्रस्तुतिहरूले सबैको मन छोएको थियो। त्यसैगरी, कथा वाचनले प्रेरणा जगाएको र प्रत्यक्ष चित्रकलाले सिर्जनात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

कार्यक्रमको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई ‘सिङ्गिङ आइडल’, ‘डान्सिङ आइडल’, ‘स्टोरी टेलिङ’ तथा ‘लाइभ ड्रइङ’ विधामा पुरस्कृत गरिएको थियो। विजेताहरूलाई बधाई दिँदै विद्यालय प्रशासनले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वास र प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

साथै शैक्षिक सत्र २०८१ मा प्रत्येक कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। साथै १००% उपस्थिती, सरसफाइ, किताब–कापीको संरक्षण तथा अनुशासन विधातर्फ उत्कृष्ट विद्यार्थीहरूलाई तहगत रूपमा छनोट गरी पुरस्कृत गरिएको थियो। शैक्षिक सत्र २०८२ को सर्वोत्कृष्ट विद्यार्थी पुरस्कार रेवा काफ्ले ले जित्न सफल भएकी छन्।

उक्त कार्यक्रममा विद्यार्थी,शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया