सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँस्थित ज्ञान ज्योति इङ्लिस स्कुलको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीबाट भएको थियो। उद्घाटन मन्तव्य राख्दै उनले शिक्षाको गुणस्तर सुधारमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन्। उनले विद्यालयले अनुशासित, सक्षम र जिम्मेवार नागरिक उत्पादनमा योगदान दिँदै आएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य, गायन, नाटक तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको प्रस्तुति आकर्षक र प्रशंसनीय रहेको उपस्थित अभिभावकहरूले बताएका थिए।
कार्यक्रममा शिक्षा क्षेत्रमार्फत समाजमा महत्वपूर्ण योगदान पुर्याउने टाेमबहादुर श्रेष्ठ तथा लक्ष्मी खरेललाई सम्मान गरिएको थियो। साथै पत्रकारितामार्फत योगदान पुर्याउने पत्रकारहरू मणिराम दाहाल, एलएन गच्छदार, शिव भट्टराई भोजपुरे, खेम अधिकारी तथा ज्ञाननाथ ढकाललाई विद्यालयले नगदसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको थियो।
यसैगरी कार्यक्रममा स्थानीय कलाकार दिलिप लिम्बुले सांगीतिक प्रस्तुति दिएका थिए, जसले कार्यक्रमलाई थप रोचक बनाएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल देवी सिटौलाले विद्यालयको प्रगति, उपलब्धि तथा आगामी योजनाबारे जानकारी दिँदै अभिभावक तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गरे। उनले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीको समग्र विकासमा विद्यालय निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वडा अध्यक्ष भुवन सिंह आले मगर, पूर्व वडा अध्यक्ष चैतन्यप्रसाद सिटौला, विभिन्न विद्यालयका प्रतिनिधि लगायत अन्य सामाजिक व्यक्तित्वहरूले विद्यालयको प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम चुडामणि गौतमकाे सञ्चालनमा भएको थियाे ।





