लेटाङ / लेटाङ नगरपालिकाले नगरको आधिकारिक लोगो, नगर गान र नगर फूल सार्वजनिक गरेको छ।

नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा यी तीनै प्रतीकहरूको विमोचन गरिएको हो। कार्यक्रमको सुरुवात तामाङ समुदायको परम्परागत “सेर्गेन” गाएर सुनाइएको थियो, जसले कार्यक्रमलाई सांस्कृतिक गरिमा प्रदान गरेको थियो।
लेटाङ क्षेत्रमा ४७ भन्दा बढी प्रजातिका सुनाखरी (अर्किड) पाइने भएकाले सुनाखरी फूललाई नै नगर फूलका रूपमा घोषणा गरिएको नगरपालिकाले जनाएको छ। यसले स्थानीय जैविक विविधता र प्राकृतिक पहिचानलाई झल्काउने विश्वास गरिएको छ।

त्यसैगरी नगरको गौरवको योजनाका रूपमा रहेको अन्तरधार्मिक शान्ति पार्कलाई समेटेर तयार गरिएको लोगो पनि सार्वजनिक गरिएको छ, जसले धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सन्देश दिने बताइएको छ। नगर गानमा लेटाङको भूगोल, पर्यटन सम्भावना, भाषा, संस्कार र संस्कृतिलाई समेटिएको छ। गीतका शब्द लेटाङ ५ का नवीन आचार्यले लेखेका हुन् भने संगीत लेटाङ ३ का प्रल्हाद बोगटीले भरेका छन्। गीतको भाषिक सम्पादन लेटाङ ५ का टंक बरालले गरेका हुन्।

कार्यक्रममा बोल्दै नगर प्रमुख भुपेन्द्र कुमार लावतीले नगरको पहिचान झल्काउने यस्ता प्रतीकहरूले स्थानीय गौरव बढाउने विश्वास व्यक्त गर्नुभयो। उपप्रमुख कृष्ण कुमारी निरौलाले सीमित स्रोत साधनका बाबजुद जनताका धेरै आवश्यकतालाई सम्बोधन गर्दै नगरपालिका क्रमशः विकासको दिशामा अघि बढिरहेको बताउनुभयो।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत शशी राईले आफूले विभिन्न पालिकामा काम गरेको अनुभव सुनाउँदै लेटाङ नगरपालिका तीव्र गतिमा प्रगति गरिरहेको र यसलाई मूर्त रूप दिन आफ्नो तर्फबाट पूर्ण प्रयास रहने उल्लेख गर्नुभयो। नगरपालिकाले सार्वजनिक गरेका यी प्रतीकहरूले लेटाङको सांस्कृतिक, प्राकृतिक तथा सामाजिक पहिचानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया