मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङको सुन्दरहरैँचा नगरपालिका १२ मा अवस्थित ओरीजीन इङ्ग्लिस स्कुलकाे अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता रोशन ढकाल तथा विशिष्ट अतिथि दीपक क्षेत्री रहेका थिए।
कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि र विशिष्ट अतिथिबाट भएको थियाे । कक्षा ३ का विद्यार्थीहरूले “पश्चिम कोहि पूर्व घर” गीतमा स्वागत नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। साथै विद्यार्थीबाट अंग्रेजी भाषामा स्वागत मन्तव्य पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रममा “Origin Dancing Idol Season–1, 2082” अन्तर्गत विभिन्न विद्यार्थीहरूले नृत्य प्रस्तुति दिएका थिए। साथै क्विज प्रतियोगिता, तेक्वान्दो प्रदर्शन, विद्यार्थीहरूले नाटक मञ्चन, अभिभावकहरूको संगिनी गायन प्रतियोगिता तथा शिक्षक र अभिभावकहरूको नृत्यले कार्यक्रमलाई अझ रोचक बनाएको थियो। यसै अवसरमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
अतिथि मोहनलाल श्रेष्ठले कार्यक्रममा मन्तव्य व्यक्त गर्दै विद्यालयले शैक्षिकसँगै सांस्कृतिक गतिविधिलाई पनि प्राथमिकता दिएकोमा प्रशंसा गरे। कार्यक्रममा नर्सरी, एल.के.जी. र यू.के.जी.देखि कक्षा ८ सम्मका विद्यार्थीहरूलाई शैक्षिक पुरस्कार वितरण गरिएको विद्यालयका प्रिन्सिपल रामचन्द्र श्रेष्ठले जानकारी दिए । उनले चित्रकला प्रतियोगिता, क्विज प्रतियोगिता लगायत विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको उल्लेख गरे ।
कार्यक्रममा विद्यार्थीहरूकाे विभिन्न शैक्षिक प्रद्वर्शनी समावेश गरिएको थियाे । कार्यक्रममा विद्यालयका पूर्व सञ्चालकहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । साथै “Origin Dancing Idol Season–1, 2082” का प्रतियोगीहरूलाई पनि सभापति, प्रमुख अतिथि तथा विशिष्ट अतिथिबाट पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा Junior School Topper, Senior School Topper तथा कक्षा २ माथिका विद्यार्थीहरूमध्ये उत्कृष्ट हाजिरी (Highest Attendance) हुने विद्यार्थीलाई पनि विशेष सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा नृत्य प्रस्तुत गर्ने अभिभावकलाई धन्यवादपत्र तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। सभापति गोविन्दबहादुर कार्कीले कार्यक्रम समापन गर्दै विद्यालयको समग्र विकासमा अभिभावक, शिक्षक तथा विद्यार्थीको सहकार्य आवश्यक रहेको जानकारी दिए । कार्यक्रममा पूर्व विद्यालय सञ्चालक, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, ज्येष्ठ नागरिक, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।





