सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १० मा अवस्थित हिमालय इग्लिस स्कुलको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य तथा सफल रूपमा सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रम विद्यालयका प्रिन्सिपल कमल खनालको अध्यक्षता तथा सुन्दरहरैंचा–१२ का वडा अध्यक्ष एवं नगर प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति, नृत्य, गीत, नाटक तथा अन्य प्रतिभा प्रदर्शनमार्फत अभिभावक र अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। विशेष आकर्षणका रूपमा आयोजित ‘डान्स आइडल’ र ‘सिङ्गिङ आइडल’को फाइनल प्रतिस्पर्धाले कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो। सहभागी विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र सशक्त मञ्च प्रस्तुतीले उपस्थित दर्शकलाई भावुक बनाएको थियो।
अध्यक्ष तथा प्रिन्सिपल खनालले विद्यालयको १० वर्षे यात्रालाई संघर्ष, समर्पण र विश्वासको कथा भएको उल्लेख गर्दै सीमित स्रोतबाट सुरु भएको यात्रालाई यहाँसम्म ल्याउन विद्यार्थी, अभिभावक र शिक्षकहरूको निरन्तर साथ र विश्वास नै मुख्य शक्ति रहेको बताए। “यो उत्सव केवल वार्षिकोत्सव मात्र होइन, हाम्रो सामूहिक सपनाको उत्सव हो,” उनले भने। साथै, आगामी दिनमा विद्यालयलाई अझ गुणस्तरीय, प्रविधिमैत्री तथा नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रमुख अतिथि ढकालले विद्यालयको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै स्थानीय शिक्षा विकासमा यस्ता संस्थाको योगदान महत्वपूर्ण रहेको बताए। छोटो समयमै विद्यालयले हासिल गरेको उपलब्धि सुन्दरहरैंचाका लागि गर्वको विषय भएको उनको भनाइ थियो।
वार्षिकोत्सवको अवसरमा विद्यालयका गतिविधिहरू विभिन्न सञ्चार माध्यम मार्फत प्रचार–प्रसार गरेको भन्दै पत्रकारहरू मणिराम दाहाल, योगेन्द्र योगी, शिव भट्टराई भोजपुरे, एल.एन. गच्छदार र राज पोखरेललाई सम्मान गरिएको थियो। साथै ‘डान्स आइडल’ र ‘सिङ्गिङ आइडल’का विजेता तथा उपविजेता विद्यार्थीहरूलाई मेडलसहित पुरस्कृत गरिएको थियो। अभिभावकहरूबीच पनि ‘डान्स आइडल’ प्रतियोगिता आयोजना गरिएको थियो।
कार्यक्रममा सुन्दरहरैंचामा पहिलो पटक विद्यालयमै “ओमेगा जम्प” प्रदर्शनीसमेत गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम तेक्वान्दो प्रदर्शनि समेत गरिएको थियाे । कार्यक्रममा अभिभावक नृत्यतर्फ प्रथम तारा ओझा, द्वितीय गंगा सुवेदी तृतीय भावना भण्डारी घाेषित भए ।
डान्स आइडल तर्फ विद्यार्थी प्रथम श्रेया चौधरी द्वितीय रोशना चौधरी, तृतीय स्मारिका शेढाई घाेषित भए । सिङ्गिङ्गतर्फ प्रथम आयोनी राई द्वितीय जेनिश बिष्ट, तृतीय रिजन खत्री भए । स्टुडेन्ट अफ द इयर सिनियर आयोनी राई जुनियर श्रीष्टिका सेढाई घाेषित भएर पुरस्कृत भए ।
कार्यक्रमभर अभिभावकहरूको सक्रिय सहभागिता, तालीको गडगडाहट र विद्यार्थीहरूको मुस्कानले वातावरणलाई पारिवारिक तथा आत्मीय बनाएको थियो। आयोजकका अनुसार यस उत्सवले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता र सामाजिक भावना विकास गर्ने उद्देश्य सफल भएको छ। कार्यक्रमको अन्त्यमा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यालय प्रशासनले सम्पूर्ण सहभागी, अभिभावक र सहयोगीप्रति कृतज्ञता व्यक्त गरेको थियो।





