मणिराम दाहाल / सुन्दरहरैँचा
नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्लाको आयोजना तथा साजीलाल माध्यमिक विद्यालयको आतिथ्यमा ४३औँ जिल्ला स्तरीय जुनियर युवा रेडक्रस सर्कल गोष्ठी सम्पन्न भएको छ ।
उक्त गोष्ठी फागुन ८ र ९ गते सुन्दरहरैँचा स्थित साजीलाल माध्यमिक विद्यालयमा आयोजना भएको थियाे । पहिलो दिनको गोष्ठीमा प्रमुख अतिथि सुन्दरहरैँचा नगर प्रमुख केदारप्रसाद गुरागाई रहेका थिए। कार्यक्रममा पूर्व सर्कल संरक्षक तथा पूर्व शिक्षकहरूलाई सम्मान गरिएको थियो । विभिन्न प्रतियोगितातर्फ पुरस्कार वितरण समेत गरिएको थियो।
गोष्ठीमा जिल्लाभरका विभिन्न विद्यालयका जुनियर रेडक्रस सर्कलमा आबद्ध विद्यार्थी, शिक्षक प्रतिनिधि तथा रेडक्रसकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियाे । कार्यक्रममा विपद् व्यवस्थापन, प्राथमिक उपचार, नेतृत्व विकास, सामाजिक सेवा तथा मानवता सम्बन्धी सचेतनामूलक प्रशिक्षण र अन्तरक्रिया सत्र सञ्चालन गरिएको थियाे ।
यस कार्यक्रमले विद्यार्थीहरूमा सेवा भावना, अनुशासन, सहयोग तथा मानवीय मूल्य अभिवृद्धि गर्दै समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने विश्वास लिइएको छ। विद्यालय व्यवस्थापन तथा स्थानीय सरोकारवालाहरूले कार्यक्रम सफल बनाउन आवश्यक साथ–सहयोग गरेको साजीलाल मा.वि.का प्रधानाध्यापक श्यामबाबु काफ्लेले जानकारी दिए । रेडक्रसले युवा पुस्तालाई मानवीय सेवामा जोड्दै समुदायस्तरमा सचेतना फैलाउने उद्देश्यले यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ । कार्यक्रमको सञ्चालन सुमन सुवेदीले गरेका थिए ।
साजीलाल माध्यमिक विद्यालयको आतिथ्यतामा जुनियर रेडक्रस सर्कल गोष्ठी अन्तर्गत विद्यार्थीहरूलाई जलवायु परिवर्तन र सुरक्षा उपायबारे प्रशिक्षण समेत दिइएको थियाे ।





