मणिराम दाहाल / सुन्दरहरैँचा

मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित श्री सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १८औँ वार्षिक साधारणसभा शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि खानेपानी तथा ढल निकास व्यवस्थापन विभाग विराटनगरका प्रमुख सुरतलाल चौधरी रहेका थिए। प्रमुख अतिथि चौधरीले खानेपानी तथा सरसफाइ क्षेत्रको दिगो व्यवस्थापनका लागि उपभोक्ता समितिहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै सेवाको गुणस्तर अभिवृद्धिमा निरन्तर ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

समितिका अध्यक्ष रामकुमार तामाङले समितिको प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। त्यसैगरी कोषाध्यक्ष सावित्रा पोखरेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने लेखा समितिको प्रतिवेदन सरोज भट्टराईले प्रस्तुत गरेका थिए।

कार्यक्रममा पूर्व समितिका पदाधिकारीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। साथै अवकाश प्राप्त कर्मचारीहरूलाई सम्मान गर्दै विदाइ गरिएको थियो। कार्यक्रममा वडा अध्यक्ष खेमप्रसाद न्यौपाने, समितिका संस्थापक अध्यक्ष तथा पूर्व सभासद लोकप्रसाद संग्रौला, नारी विकास संघकी अध्यक्ष सुसिला कार्की, समाजसेवी प्रेमप्रकाश उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम समितिका सचिव सुरेश दाहालकाे सञ्चालनमा भएको थियाे ।

साधारणसभाले समितिको वार्षिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनालाई पारित गरेको छ । कार्यक्रममा उपभोक्ता , सर्वसाधारण तथा जनप्रतिनिधि लगायतयकाे सहभागी रहेको थियाे ।

तपाईको प्रतिक्रिया