मणिराम दाहाल / सुन्दरहरैंचा

माेरङकाे सुन्दरहरैंचा नगरपालिकामा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना भएको छ।

नेपाल राष्ट्रका प्रथम जगतगुरू बालसन्त मोहनशरण देवाचार्यको गरिमामय उपस्थितिमा तथा प्रमुख वाचक आचार्य पण्डित सुरेश रिसालको वाचनमा महायज्ञ सम्पन्न हुने आयोजकले जनाएको छ।उप–वाचकका रूपमा प्रा. प्रचण्ड विद्वान श्री गोपाल भण्डारी तथा आचार्य पण्डित श्री गणेश न्यौपानेसहित गुरू विद्वानहरूबाट श्रीमद्भागवत सप्ताह महापुराण तथा धन–धान्याञ्चल ज्ञान महापुराणको पावन आयोजनाको तयारी गरिएको छ।

महायज्ञ माघ २१ गतेदेखि २७ गतेसम्म सुन्दरहरैंचा नगरपालिका–१०, सुकुना मार्गमा आयोजना गरिएकाे छ । कार्यक्रमको आयोजना श्री पुरातन वैदिक सनातन धार्मिक प्रवर्द्धन संस्थाले गरेको हो। महापुराणका विशेषताहरूमा विशिष्ट सन्त–महात्माहरूबाट कथा प्रवचन, बाजागाजा, झाँकी र पूर्ण कलशसहितको शोभायात्रा तथा ख्यातिप्राप्त कलाकारहरूद्वारा संगीतमय भजनकीर्तन प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

साथै उपनयन, चौरासी, बेल विवाह, गुन्युचोली तथा लक्ष्यवर्ती बाल्ने व्यवस्थासमेत सहायक कार्यक्रमका रूपमा समावेश गरिएको छ। संस्थाका अध्यक्ष जयप्रसाद खतिवडाले महायज्ञ संस्थाको भूमि व्यवस्थापन, वैदिक धर्म संस्कृतिको संरक्षण तथा संवर्धन र भावी भवन निर्माणको उद्देश्यका साथ आयोजना गरिएको जानकारी दिए । “धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै संस्थाको दीर्घकालीन उद्देश्य पूरा गर्न सबैको साथ, सहयोग र उपस्थितिको अपेक्षा गरेका छौं,” अध्यक्ष खतिवडाले भने ।

त्यस्तै, संस्थाका सचिव पदमप्रसाद पोखरेलले समुदायस्तरमा धार्मिक जागरण फैलाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताउँदै भने , “यस कार्यक्रमले सनातन धर्म संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं। सम्पूर्ण धर्मप्रेमी भक्तजनहरूलाई सहभागी भई पुण्य लाभ लिन हार्दिक अनुरोध गर्दछौं।”

आयोजक संस्थाले सम्पूर्ण श्रद्धालु, भक्तजन तथा शुभेच्छुकहरूलाई महायज्ञमा गरिमामय उपस्थिति तथा साथ सहयाेगका लागि हार्दिक निमन्त्रणा गरेको छ।

तपाईको प्रतिक्रिया