मणिराम दाहाल / माेरङ

विश्वप्रसिद्ध काकबाबाको जन्म वि.सं. १९९८ साल माघ २१ गते तत्कालीन धरान नगरपञ्चायतको विजयपुर–११ मा भएको हो।

उहाँको न्वारान नाम विश्वदेव पोखरेल हो। उहाँ “विश्वका मानव एक हौँ” भन्ने मान्यता राख्नुहुन्छ। भौतिक चाहनाको उपभोग गर्नेले सत्कर्म गरे फलदायी हुने र कुकर्म गरे त्यसको परिणाम आफैंमा कष्टकर हुने विश्वास उहाँको दर्शनको मूल आधार हो। उहाँका पिताको नाम स्व. पं. सालिकराम पोखरेल तथा माताको नाम सोभनादेवी हो। उहाँ धरान–१५, विश्वकर्मा मन्दिर उत्तरतर्फ अवस्थित महाकाल शनिदेव मन्दिरका संस्थापक अध्यक्ष हुनुहुन्छ। धरानको शनिदेव मन्दिरको स्थापना वि.सं. २०४० सालमा खरको झुप्रोबाट सुरू भएको काकबाबाको भनाइ रहेको छ ।

हाल उहाँ सोही मन्दिरका पुजारी पनि हुनुहुन्छ । उहाँको पहलमा शनिमन्दिरमा धेरै विकास तथा सुधारका कामहरू सम्पन्न भएका छन् ।शनिमन्दिरका संस्थापक अध्यक्षद्वयमा विश्वदेव पोखरेल र कृष्ण शाहीको महत्वपूर्ण योगदान रहेको उहाँले उल्लेख गर्नुभयाे ।

काकबाबाले पब्लिक हाइस्कुल, धरानबाट वि.सं. २०२१ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो। पञ्चायतकालमा उहाँ स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा उठ्नुभएको थियो र वम देवानसँग ३५१ मतले पराजित हुनुभएको थियो। वि.सं. २०१८ देखि २०२८ सालसम्म उहाँले प्रहरी जवानका रूपमा ९ वर्ष सेवा गर्नुभएको अनुभव छ। त्यसअघि, वि.सं.२०१७ सालमा उहाँले मासिक ३० रूपैयाँ पारिश्रमिकमा पिण्डेश्वर विद्यापीठको छात्रावास तथा विद्यालय निर्माण कार्यमा सुपरभाइजरको रूपमा काम गर्नुभएको थियो ।

पछि उहाँले जागिर छाडेर तान्त्रिक क्षेत्रमा प्रवेश गर्नुभयो र हाल “लोकप्रिय काकबाबा” को रूपमा परिचित हुनुहुन्छ । समाज परिवर्तन, सुधार तथा विकासमूलक कार्यमा संलग्न हुँदा उहाँले हिरासत तथा जेल जीवनसमेत भोग्नुपरेको थियाे।

तपाईको प्रतिक्रिया