सुन्दरहरैंचा / नेपाल मगर संघ सुन्दरहरैंचा नगर समितिले मगर समुदायको मौलिक पर्व माघे सकराती तथा नयाँ वर्ष (मिनाम ल्हेस–५०१५) को अवसरमा शुभकामना आदानप्रदान परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।
मोरङकोमा मगर इतिहास, भाषा र संस्कृतिको संरक्षण–सम्बर्द्धनलाई मूल मन्त्रका रूपमा अघि बढाउँदै सुन्दरहरैँचा ९ स्थित आदिवासी जनजाति धार्मिक स्थलमा शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रमसहित माघे सक्रान्ति पर्व मनाइएको हो। कार्यक्रममा नेपाल मगर संघ सुन्दरहरैंचा नगर समितिका अध्यक्ष बुद्धीमान आले मगरको अध्यक्षता तथा प्रमुख अतिथि नेपाल मगर संघ जिल्ला कार्यसमितिका अध्यक्ष टिकाराम पिठाकोटे मगर रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल मगर संघ मोरङका अध्यक्ष टिकाराम पिठाकोटे मगरले मगर समुदायको मौलिक संस्कार तथा संस्कृतिहरुको संरक्षण र संवद्र्धन गर्दै पुस्तान्तरण गर्नका लागि हरेक बर्ष यस्ता कार्यक्रमको आयोजना गरिएको बताए।
नेपाल मगर संघ सुन्दरहरैँचा नगर समितिको आयोजनामा भएको कार्यक्रममा हुर्रा नाच, मगर समुदायका परम्परागत खानाका परिकार र विभिन्न सांगीतिक प्रस्तुतिहरू समावेश गरिएको नगर समितिका बुद्धीमान आले मगरले बताए। माघे सक्रान्तीको अवसरमा मगर समुदाय लगायत अन्य समुदायले पनि एक–आपसमा शुभकामना साटासाट गरेर सो पर्व मनाएका छन्।
कार्यक्रमका विशिष्ट अतिथिमा वडा नम्बर १० का वडाध्यक्ष राजकुमार राई ,वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ,नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष कमल खनाल,इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईं,स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष तथा युवा समाजसेवी नेत्रप्रसाद चम्लागाई लगायत रहेका थिए । कार्यक्रमको संचालन मोतीबहादुर मगरले गरेका थिए।





