मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङ सुन्दरहरैँचा नगरपालिकामा सिद्वार्थ युवा क्लबको आयोजनामा दाेस्रो उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता माघ ६, ७ र ८ गते सञ्चालन हुने भएको छ।
महिला खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुद विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त प्रतियोगिता सुन्दरहरैँचाकाे गछिया खेल मैदानमा हुने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियाेगिता आयाेजना हुन लागेको हाे । खेलको प्रवर्द्धन सुन्दरहरैँचा खेलकुद विकास समितिले गरेको छ ।
प्रतियोगितामा दैनिक चार खेल सञ्चालन हुने उल्लेख गरिएको छ । प्रथम हुने टिमले १ लाख ३३ हजार रुपैयाँ, द्वितीय हुने टिमले ६६ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै विजयी टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
उत्कृष्ट खेलाडीलाई २५ सय रहेको छ।त्यसैगरी ‘म्याच अफ द सिरिज’ खेलाडीलाई १ हजार ५ सय रुपैयाँ र उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा ओखलढुंगा, भोजपुर, धनकुटा, खोटाङ, संखुवासभा लगायत पहाडी जिल्लाका पालिकाबाट समेत टिमको सहभागिता रहने जनाइएको छ । हालसम्म १२ वटा टिमको दर्ता भइसकेको आयोजकले जानकारी दिएको छ ।
काेशी प्रदेशका विभिन्न अन्तरपालिका स्तरका महिला भलिबल टिमहरूको सहभागिता रहने प्रतियोगितालाई सफल बनाउन स्थानीयतह, खेलकुद संघसंस्था तथा खेलप्रेमीहरूको उल्लेख्य सहयोग रहने विश्वास आयोजकले व्यक्त गरेको क्लबका अध्यक्ष असिम राईले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समिति सदस्य सचिव खड्ग श्रेष्ठ तथा पूर्व राष्ट्रिय खेलाडी साथै खेल संयाेजक पाेष्टकुमार श्रेष्ठले बाेलेका थिए ।





