मणिराम दाहाल / सुन्दरहरैँचा
स्वर्गीय नेपाली र्यापर यमबुद्ध (अनिल अधिकारी) को स्मृतिमा सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसमा यमबुद्ध श्रद्धाञ्जली तथा विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
यमबुद्ध फाउन्डेसनको आयोजनामा माघ १ गते कार्यक्रम हुन लागेको हो। सुन्दरहरैँचा–१२, मोरङमा आयोजना हुने यस कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत गरिब, असहाय तथा पढाइबाट वञ्चित विद्यार्थीहरूका लागि छात्रवृत्ति कोष स्थापना गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । मंगलबार पत्रकार सम्मेलन मार्फत फाउन्डेसनले कार्यक्रमबारे जानकारी दिँदै नेपाली हिप–हप क्षेत्रका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने जनाएको हो। कार्यक्रममा लोकप्रिय र्यापर VTEN, Tuki, Mr. D तथा Raila Rok(ka) लगायत कलाकारहरूको उपस्थिति रहनेछ।
आयोजकका अनुसार करिब ४ हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। यो कार्यक्रम सुन्दरहरैँचा क्षेत्रकै ऐतिहासिक तथा स्मरणीय सांगीतिक कार्यक्रम बन्ने विश्वास लिइएको छ। दिवंगत र्यापर यमबुद्धको सामाजिक चेतना, संघर्ष र सकारात्मक सन्देशलाई सम्मान गर्दै कार्यक्रममार्फत यमबुद्ध छात्रवृत्ति कोष स्थापना, लागूऔषध दुर्व्यसन विरुद्ध सचेतना अभिवृद्धि तथा युवालाई सिर्जनशील र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रममा प्रस्तुत हुने सांगीतिक प्रस्तुति यमबुद्धका विचार, सामाजिक सन्देश र जीवन दर्शनसँग मेल खाने खालका रहने आयोजकले जनाएको छ। यमबुद्ध फाउन्डेसन स्वर्गीय यमबुद्धको विचार, दर्शन र सामाजिक सन्देशलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यले स्थापना गरिएको सामाजिक संस्था भएको उल्लेख गरिएको छ । फाउन्डेसनले शिक्षा प्रवर्द्धन, आर्थिक रूपमा विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग, लागूऔषध विरोधी अभियान तथा सिर्जनशील युवाको क्षमता विकासमा निरन्तर काम गर्दै आएको बताइएको छ ।
कार्यक्रमका लागि अग्रिम टिकटको व्यवस्था गरिएको छ। साधारण टिकट: ३ सय ५० रुपैयाँ , भिआइपी टिकट: ७ सय रुपैयाँ रहेको छ । परिस्थिति अनुसार टिकट मूल्यमा परिवर्तन हुन सक्ने आयोजकले जनाएको छ। १६ देखि ३५ वर्ष उमेर समूहका युवा–युवती मुख्य लक्षित वर्ग रहेका छन्। कार्यक्रमको प्रचार–प्रसारका लागि सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन, पत्रपत्रिका, पोस्टर, ब्यानर तथा इन्फ्लुएन्सर मार्फत व्यापक अभियान सञ्चालन गरिएकाे छ ।
यमबुद्ध फाउन्डेसनका अध्यक्ष अम्बिकाप्रसाद अधिकारी र कोषाध्यक्ष उर्मिला अधिकारी रहेका छन्। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि रोहन खत्री र योगेश दाहाल सँग सम्पर्क गर्न सकिने जनाइएको छ। पत्रकार सम्मेलनमा नगर प्रवक्ता राेशनप्रसाद ढकाल तथा सुकुना बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहाल लगायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।





