सुन्दरहरैँचा / चितवनमा आख्यानकार छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ को विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

सम्पूर्ण किताब नारायणगढको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समालोचक उदय अधिकारी र धनराज गिरीले उपन्यासमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए।
कार्यक्रममा समालोचक उदय अधिकारीले उपन्यासले सहरी संस्कृतिले जन्माएका विकृति र विसङ्गतिलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरेको बताए। उनले ‘विविशारा’ अहिलेको सहरिया जीवनको कुरूप यथार्थ झल्काउने कृति भएको उल्लेख गर्दै, यो बाल मनोविज्ञान र दर्शनले ओतप्रोत अनाथ पात्रको कथा भएको धारणा राखे।

त्यसैगरी अर्का वक्ता धनराज गिरीले ‘विविशारा’ सरल, प्राञ्जल र प्रभावकारी भाषामा लेखिएको दुःख र संघर्षको कारुणिक कथा भएको बताए। उपन्यासले पाठकलाई भावनात्मक रूपमा छुने क्षमता राख्ने गिरीको भनाइ थियो।

कार्यक्रममा लेखक छवि वैरागी घिमिरेले मानव मात्र नभई यस ब्रह्माण्डका अन्य जीवजन्तु तथा चराचर पनि आ–आफ्नै किसिमले अनाथ हुने र तिनका कथा–व्यथा फरक हुने धारणा व्यक्त गरे । आजका युवाहरूका लागि संघर्ष भनेको के हो र जीवन कसरी जिउन सिक्नुपर्छ भन्ने मूल सन्देश दिन ‘विविशारा’ लेखिएको उनले बताए। साथै सबै पाठकलाई उपन्यास अध्ययन गर्न आग्रह गरे।
चितवनका पाठकमाझ आएर उपन्यासको विमर्श गर्न पाउँदा खुसी लागेको लेखक घिमिरेले बताए।

फिनिक्स बुक्सले प्रकाशन गरेको उपन्यास ‘विविशारा’ हाल पाठकको मन जित्न सफल भइरहेको छ। उपन्यासको मूल्य ५९९ रुपैयाँ रहेको छ। उपन्यासकार घिमिरे माेरङकाे सुन्दरहरैँचा निवासी हुन् । उनी पछिल्लो समय उपन्यास ‘विविशारा का कारण चर्चामा छन् ।

तपाईको प्रतिक्रिया