सुन्दरहरैँचा / मोरङ सुन्दरहरैँचा १२ विराटचोकस्थित मेन्छ्याम बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभा पानस पाटी प्यालेसमा शनिबार भएको हो। संस्थाका अध्यक्ष रुपेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा सुन्दरहरैँचा नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकाल प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक विराटचोक शाखाका शाखा प्रमुख मनोज लामिछाने विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
साधारण सभामा विभिन्न संघ–संस्थाका प्रतिनिधि, संस्थाका सञ्चालक समिति पदाधिकारी, कर्मचारी वर्ग तथा सेयरधनी सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सेयरधनी सदस्यहरूको उत्साहजनक सहभागिताले कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको संस्थाले जनाएको छ।
कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने सेयरधनी सदस्यहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। प्रमुख अतिथि तथा अन्य अतिथिहरूले सहकारीमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साना तथा मझौला व्यवसायी र कृषकहरूको आर्थिक तथा व्यवसायिक उन्नयनमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस किसिमको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संस्थाकी सचिव सिता राईले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण सेयरधनी सदस्य, अतिथि तथा सरोकारवालाप्रति आभार व्यक्त गरिन् । उनले सेयरधनी सदस्यहरूको साथ, सहयोग र विश्वास नै संस्थाको मुख्य आधार भएको बताइन् । कार्यक्रमकाे अवसरमा सम्पूर्ण सेयरधनी सदस्य, अतिथि तथा सहयोगीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि संस्थाप्रति निरन्तर माया र सहयोगको अपेक्षा गरिएको थियो।





