मणिराम दाहाल / सुन्दरहरैँचा

मोरङकाे सुन्दरहरैँचास्थित इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

साधारण सभा इन्द्रपुर जेसीज हलमा भएको थियाे । साधारण सभामा आयोजनाको वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा उपभोक्ता, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिकाे सहभागिता रहेको थियो। आयोजनाले हालसम्म ९ हजारभन्दा बढी खानेपानी धारा मार्फत ४० हजारभन्दा बढी नागरिकलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउँदै आएको जानकारी गराइएको छ। सभाले सेवा सुधार, पारदर्शिता र आयोजनाको दिगोपनामा विशेष जोड दिँदै आगामी वर्षका प्राथमिकता क्षेत्रहरू तय गरेको छ।

साधारण सभामा नगर विकास कोष, क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय इटहरी, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगर, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, सल्लाहकार, प्राविधिक सल्लाहकार, जग्गादाता तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। समितिका अध्यक्ष नवराज चपागाईंले उपस्थित सम्पूर्ण अतिथि तथा उपभोक्ताहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै विविध गतिविधि बारे जानकारी दिएका थिए ।

सभाले विभिन्न महत्वपूर्ण एजेण्डाहरू पारित गरेको छ। जसअन्तर्गत साधारण सभाको माइन्युट लेखन तथा प्रमाणीकरण समिति गठन, सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रगति विवरण तथा भावी कार्ययोजना पारित, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा बजेट अनुमोदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन, जग्गा खरिद, विधान संशोधन, नयाँ आयोजना थप तथा आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने निर्णयहरू रहेका छन्।

सभाले इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजनालाई अझ प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया