मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा विराटचाेकस्थित सुकुना सामुदायिक हस्पिटल प्रा.लि. ले विगत लामो समयदेखि निरन्तर रूपमा समुदायमा आधारित स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ।
हस्पिटल स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हाे । वि.सं. २०६७ सालमा स्थापना भएको यस हस्पिटलले निजी लगानीबाट सञ्चालन हुँदै स्थानीय नागरिकको स्वास्थ्य पहुँचलाई सहज बनाएको छ। हस्पिटलमा दैनिक एम.बि.बि.एस. डाक्टरको उपस्थितिमा सम्पूर्ण रोगको उपचार तथा परामर्श एकै छाना मुनि प्रदान गरिँदै आएको उल्लेख गरिएको छ । २४ घन्टा इमेरजेन्सी सेवा, बेड तथा वाडको व्यवस्था, अपरेसन कक्ष, फार्मेसी, डिजिटल एक्स–रे, भिडियो एक्स–रे, २४ घन्टा ल्याब सेवा, इन्डोस्कोपी सेवा लगायतका अत्याधुनिक सुविधाहरू उपलब्ध छन्।
यहाँ दैनिक स्त्री रोग उपचार, हाडजोर्नी तथा नसासम्बन्धी रोगको उपचारकाे सुविधा रहेको छ । साथै दैनिक इन्डोस्कोपी सेवा सञ्चालन हुँदै आएको छ, जसबाट मासिक औसतमा करिब १५ जनाले सेवा लिने गरेका छन्। सुरक्षा गार्डसहित २७ जना कर्मचारी कार्यरत रहँदा हस्पिटलले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न पनि योगदान पुर्याएको छ।
हस्पिटलका अध्यक्ष गोविन्दबहादुर कार्कीले यहाँका स्थानीय नागरिकले सहर धाउनुपर्ने बाध्यताकाे विस्तारै अन्त्य गर्दै आफ्नै ठाउँमा गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने मुख्य लक्ष्य रहेको बताए । उनले समुदायकै साथ र विश्वासले हस्पिटल आज यहाँसम्म आइपुगेको उल्लेख गरे ।
त्यसैगरी प्रबन्ध निर्देशक प्रमोद कोइरालाले सेवाको निरन्तरताबारे बताउँदै भने , “सुकुना सामुदायिक हस्पिटललाई हामी केवल उपचार केन्द्र मात्र नभई समुदायको भरोसाको केन्द्र बनाउने दिशामा अघि बढिरहेका छौँ। दक्ष चिकित्सक, आधुनिक उपकरण र २४ सै घन्टाकाे सेवामार्फत अझ प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता छ।”
हाल २७ जना शेयर सदस्यको लगानी तथा ७ जानाकाे सञ्चालक समिति रहेको यस हस्पिटलले भविष्यमा सेवा विस्तार र प्रविधि थप गर्दै अझ प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने योजना समेत बनाएको छ । photo : Maniram Dahal





