छवि वैरागी घिमिरेको ‘विविशारा’ को गृह लोकार्पण तथा विमर्श सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित विराटचाेकमा वरिष्ठ कवि तथा आख्यानकार छवि वैरागी घिमिरेको नवीनतम उपन्यास ‘विविशारा’ को गृह लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
सुन्दरहरैँचा कला–साहित्य विकास समिति तथा कोसी साहित्य–कला परिषद् नेपालले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाले उपन्यासको लोकार्पण गरेका थिए । पठन संस्कृतिको प्रवर्द्धन र स्रष्टाप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले प्रमुख अतिथिबाटै पुस्तक खरिद गरी लोकार्पण गर्ने अभियानलाई यसपालि पनि निरन्तरता दिइएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा लोकार्पित कृतिमाथि विमर्श गरिएको थियो । विमर्शमा महेन्द्र बहुमुखी क्याम्पस धरानकी उपप्राध्यापक डा. अस्मिता विष्ट र नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभागका सदस्य रामप्रसाद खरेलले पुस्तकका विभिन्न पक्षमाथि धारणा राखेका थिए । लेखक घिमिरे स्वयंलाई समेत विमर्शमा समेटिएको कार्यक्रममा प्रस्तोताहरूले विविध दृष्टिकोणबाट प्रश्न–उत्तर गरेका थिए ।
कार्यक्रमको संयोजन नेपाली टेलिभिजन इटहरीका कार्यक्रम सञ्चालक उषाकिरण घिमिरेले गरेका थिए । स्वागत मन्तव्य सुन्दरहरैँचा कला–साहित्य विकास समितिका उपाध्यक्ष तथा प्राज्ञ डा. दीपकप्रसाद न्यौपानेले व्यक्त गरेका थिए ।

सो अवसरमा प्राज्ञ खेम नेपाली, सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, पूर्व प्रमुख प्रेमप्रसाद भट्टराई, लेखक तथा शैक्षिक व्यक्तित्व लेखनाथ घिमिरे, सुन्दरहरैँचाका सामाजिक व्यक्तित्व सुरेन्द्रबहादुर थापा लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । झापा, मोरङ र सुनसरीका साहित्यिक तथा सामाजिक व्यक्तिहरूको बाक्लो सहभागिता देखिएको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, स्थानीय सुजु थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै लेखक घिमिरेलाई कृतिको सफलताको शुभेच्छा प्रकट गरेका थिए ।
कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ ले गरेका थिए ।





