– खेमचन्द्र वस्ती
नेपालको पूर्वी भूभागमा अवस्थित कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विविधताले भरिएको प्रदेश हो । हिमालदेखि तराईसम्म फैलिएको भौगोलिक बनावट, अनेकौं नदी झरना, हरियाली वन, पहाडी गाउँ, सांस्कृतिक सम्पदा र विविध जातीय परम्पराले यो प्रदेशलाई पर्यटनका दृष्टिले अनन्त सम्भावनाहरू भएको क्षेत्र बनाएको छ । कोशी प्रदेश नेपालकै सबैभन्दा धनी प्रदेशमध्ये एक भए पनि यहाँको पर्यटन सम्भावनाको पूर्ण उपयोग अझै हुन सकेको छैन । पछिल्ला वर्षहरूमा केही पहल भए तापनि पर्यटन क्षेत्रलाई वास्तविक अर्थमा विकास गर्न अझै दीर्घकालीन योजना, पूर्वाधारको सुधार र प्रवर्द्धन रणनीति आवश्यक देखिन्छ । यस्तो अवस्थामा कोशी प्रदेशको पर्यटन र विकासलाई एकसाथ जोडेर हेर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ किनकि पर्यटन नै आर्थिक विकासको प्रमुख आधार बन्नसक्छ ।
कोशी प्रदेशको पर्यटन क्षेत्रको चर्चा गर्दा सबैभन्दा पहिले यसको भौगोलिक विविधता उल्लेख गर्नैपर्छ । प्रदेशको उत्तर भागमा विश्वका अग्ला हिमालहरूमध्ये पर्ने सगरमाथा र कञ्चनजङ्घा हिमालहरु छन्, जसले पर्वतारोहण तथा ट्रेकिङका लागि अद्वितीय आकर्षण प्रदान गर्छ । कञ्चनजङ्घा क्षेत्रमा पाइने हिमाली दृश्य, दुर्गम गाउँ, स्थानीय संस्कार, धार्मिक स्थल र जैविक विविधता संसारकै अनौठा अनुभव हुन् । त्यहाँ पाइने कञ्चनजङ्घा संरक्षण क्षेत्र अनेकौं दुर्लभ वन्यजन्तुको वासस्थान पनि हो, जसले पर्यटनमा अनुसन्धान र प्राकृतिक अध्ययनको सम्भावना थपिदिन्छ । हिमालतिर मात्र होइन, प्रदेशका पहाडी क्षेत्रहरू धनकुटा, तेह्रथुम, पाख्रीबास,फलाँटे, बसन्तपुर म्याङलुङ,खाँदवारी,चैनपुर,दिङला लगायतका स्थानहरू प्राकृतिक सौन्दर्यका संग्रहालयझैँ लाग्छन् । विशेषगरी तेह्रथुमको तिनजुरे मिल्के जलजले क्षेत्र अहिले नेपालकै प्रमुख रोडोडेन्ड्रोन (लालीगुराँस) क्षेत्रका रूपमा प्रसिद्ध हुँदै गएको छ । वसन्त ऋतुमा त्यहाँ फुल्ने लालीगुराँसका हजारौँ प्रजातिले पहाडलाई रङ – रङका फूलले सजाउँछन्, जसले पर्यटक तथा प्रकृतिप्रेमीहरूलाई मोहनी जस्तै तान्छ । कोशी प्रदेशको मध्यभाग पहाडी भेगहरूका कारण सांस्कृतिक र प्राकृतिक पर्यटन दुवैका लागि उपयुक्त मानिन्छ । यहाँका परम्परागत हाटबजार, ऐतिहासिक बस्तिहरू, लिम्बू, राई, तामाङ, नेवार, गुरुङ लगायतका जातीय संस्कृतिहरू, उनीहरूको भेषभूषा, चाडपर्व, नाच तथा गीत-संगीतले पर्यटकलाई अद्वितीय अनुभव दिन सक्छन् । खासगरी किराँत समुदायको धार्मिक परम्परा, देवीदेवताका पूजा-संस्कार, साकेला नृत्य र पहाडी भेष-भूषामा देखिने मौलिकता कोशी प्रदेशको सांस्कृतिक पर्यटनको मुख्य आधार हुन् तर यस्ता सांस्कृतिक सम्पदाको प्रवर्द्धन अझै व्यवस्थित ढङ्गले हुन सकेको छैन, जसका कारण विश्वबजारमा यसको पहिचान सीमित छ ।
प्रदेशको दक्षिणी भागमा भने समथर तराई भूभाग छ, जहाँ विकसित शहरहरू, कृषि पर्यटनका सम्भावना, उद्योग, धार्मिक स्थल र शहरी विकास मिलेर अर्को प्रकारको पर्यटन अवसर सिर्जना गर्छन् । विशेषगरी विराटनगर प्रदेशको राजधानी तथा व्यापार, उद्योग र संस्कृतिका कारण सुगम र आकर्षक शहरका रूपमा विकसित हुँदैछ । विराटनगरको इतिहास, कला, व्यापारिक संस्कार, स्थानीय खानपान, खुला सडक, शहरी वातावरण र होटल-रेस्टुरेन्टहरूले यस शहरलाई पूर्वी नेपालको प्रमुख प्रवेशद्वार बनेको छ । त्यस्तै, धरान पनि कोशी प्रदेश पर्यटनको प्रमुख केन्द्र हो । धार्मिक दृष्टिले पिण्डेश्वर, विजयपुर, र सामुदायिक पार्कहरूले धरानलाई पर्यटकमैत्री बनाएका छन् । स्वास्थ्य तथा शिक्षामा समेत प्रख्यात धरानमा आउने आन्तरिक पर्यटकहरूले यहाँको स्वच्छ वातावरण, पहाडी दृश्य, नजिकैका बनभोज स्थल प्राकृतिक सौन्दर्यताका कारण धरानलाई ‘पूर्वको सुन्दरी’ भनेर सम्बोधन गर्ने गरेका छन् ।
कोशी प्रदेशको अनौठो पहिचान भनेको नदीहरू र जलस्रोतको धनी प्रदेश हुनु पनि हो । अरुण, तमोर लगायतका ठूला-साना नदीहरू पर्यटनका लागि अनगिन्ती सम्भावना बोकेर बसेका छन् । जलक्रीडा, राफ्टिङ, पुल-बञ्जी, झरनादर्शन आदि क्रियाकलाप विस्तार गर्ने हो भने कोशी प्रदेश साहसिक पर्यटनको केन्द्र बन्न सक्छ । उदाहरणका रूपमा भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटा आदिमा रहेका प्राकृतिक झरनाहरू, खोला तथा खोंचहरूले साहसिक पर्यटनको सुन्दर आधार प्रस्तुत गर्छन् । तर यस्ता सम्भावनाहरू अझै अविकसित, अपरिचित तथा अपूरो अवस्थामा छन् । उचित योजना, सुरक्षाको व्यवस्था र प्रचार-प्रसार गर्न सके यी स्थानहरू आन्तरिक तथा बाह्य दुवै पर्यटकका लागि अत्यन्त आकर्षक बन्नसक्छन् ।
पर्यटनसँगै विकासको कुरा गर्दा पूर्वाधारको सुधार नै पहिलो र अनिवार्य तत्व मानिन्छ । कोशी प्रदेशका धेरै ठाउँमा अहिले पनि गुणस्तरीय सडक अभाव छ । दुर्गम पहाडी क्षेत्रहरूमा यातायात कठिन हुनु, यात्रु तथा पर्यटकलाई असजिलो महसुस गराउनु सामान्य कुरा बनेको छ । कञ्चनजङ्घा बेसक्याम्प वा अन्य ट्रेकिङ मार्गतिर पुग्दा उचित सूचना केन्द्र, विश्रामस्थल, स्वास्थ्य सुविधा वा आपतकालीन उद्धार सेवा उपलब्ध नहुनु आजका आधुनिक पर्यटन प्रवाहका लागि ठूलो चुनौती हो । यस्ता समस्याले प्रदेशको पर्यटन छविमा नकारात्मक असर पारिरहेको छ । त्यसैले कोशी प्रदेशले पर्यटन रणनीति बनाउँदा सडक विस्तार र स्तरोन्नति, सुरक्षित पुल, ट्रेकिङ मार्ग सुधार, सूचना केन्द्र निर्माण, शौचालय, फोहोर व्यवस्थापन र स्वच्छता प्रणालीलाई अत्यधिक प्राथमिकतामा राख्नुपर्छ ।पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यमको भूमिका मुख्य रहन्छ । तर पूर्वी नेपालका धेरै पर्यटनस्थल विश्वको नजरमा अझै पूर्ण रूपमा प्रस्तुत हुन सकेका छैनन् । यदि प्रदेश सरकारले डिजिटल प्रचारमा ध्यान दियो भने फोटो, भिडियो, वृत्तचित्र, यात्रा मार्गदर्शन, अनलाइन बुकिङ, बहुभाषिक सामग्री, भर्चुअल टुर जस्ता माध्यमबाट कोशी प्रदेशलाई विश्वमाझ लोकप्रिय बनाउन सकिन्छ । आजको संसारमा प्रविधि नै प्रचारको मूल माध्यम बनेकाले डिजिटल पर्यटन प्रवर्द्धन बिना विकासको कल्पना गर्न कठिन छ ।
कोशी प्रदेशमा पर्यटन पुनर्जीवनका लागि सरकारी नीतिको स्थिरता पनि अत्यन्त आवश्यक छ । प्रदेश सरकारले पर्यटन नीतिलाई स्पष्ट, सरल र व्यवहारिक बनाएर पर्यटकमैत्री वातावरण निर्माण गर्नुपर्छ । निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन दिने, करछूट दिने, होटल तथा व्यवसाय दर्ता प्रक्रियालाई सरल बनाउने, सुरक्षा व्यवस्थालाई बलियो बनाउने, पर्यटनसहितका परियोजनामा दीर्घकालीन योजना बनाउने काम सरकारले गर्नु जरुरी छ । नीतिगत अनिश्चितताका कारण कतिपय सम्भावना भएका क्षेत्रहरू मागअनुसार विकसित हुन सकेका छैनन् । नीति, योजना र कार्यान्वयनमा निरन्तरताको कमी हटाउन सके विकासले गति पाउनेछ ।
स्थानीय समुदाय पर्यटनको मेरुदण्ड हो । उनीहरूकै संस्कृति, परम्परा, व्यवहार, खानपान,पहिरन र जीवनशैली हेर्न पर्यटक लालायित हुन्छ । कोशी प्रदेशका स्थानीय समुदायलाई पर्यटनसँग प्रत्यक्ष जोड्न सके उनीहरूमा स्वामित्वको भावना पैदा हुन्छ । यसले उनीहरूलाई आफ्नो क्षेत्र सफा राख्न, घरपरिवारको आतिथ्य सुधार्न, कृषि उत्पादनलाई पर्यटनसँग जोड्न र प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्न प्रेरित गर्छ । प्रदेशका ग्रामिण क्षेत्रमा होमस्टे कार्यक्रम विस्तार गर्न सकियो भने स्थानीयलाई रोजगारी बढ्ने मात्र होइन, पर्यटकलाई पनि मौलिक अनुभव प्राप्त हुनेछ । स्थानीय समुदायलाई भाषा, आतिथ्य, खाना पकाउने, मार्गदर्शन, फोहोर व्यवस्थापन तथा सुरक्षा सम्बन्धी तालिम दिएर पर्यटनलाई दीर्घकालीन रूपमा टिकाउ बनाउन सकिन्छ ।
कोशी प्रदेशमा पर्यटनको अर्को महत्वपूर्ण आयाम स्वास्थ्य तथा शैक्षिक पर्यटन पनि हो । धरानस्थित चिकित्सा तथा शैक्षिक संस्थानहरू, विशेषगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चल विश्वविद्यालय लगायतका ठूला संस्थानले यस क्षेत्रलाई शैक्षिक र स्वास्थ्य पर्यटनको केन्द्र बनाउन सक्छन् । धेरै मानिस उपचार तथा अध्ययनका लागि यहाँ आउने भएकाले यसले होटल, यातायात, व्यापार, रेस्टुरेन्ट तथा अन्य पर्यटन सम्बद्ध व्यवसायलाई विस्तार गर्न सघाउँछ ।सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र प्रदेश सरकारबीच समन्वय राम्रो भए मात्रै पर्यटनले वास्तविक विकासको रूप लिन सक्छ । प्रत्येक क्षेत्रले आफ्नो भूमिकालाई इमानदारितापूर्वक निर्वाह गर्न सके कोशी प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन नक्सामा शक्तिशाली रूपमा प्रस्तुत गर्न सकिन्छ । विशेष गरी वातावरणीय संरक्षण, सांस्कृतिक पहिचानको रक्षा, सुरक्षित पर्यटन वातावरण र योजनाबद्ध पूर्वाधार विस्तारमा खास ध्यान दिनुपर्छ । कोशी प्रदेश प्राकृतिक सम्पदामा धनी छ, तर यसको संरक्षण तथा व्यवस्थापन नगरे विनाशकारी परिणाम आउने सम्भावना रहनेछ । त्यसैले विकास र संरक्षण दुबै हातेमालो गर्दै अघि बढ्नुपर्छ ।
कोशी प्रदेशको पर्यटन र विकास एउटै सिक्काका दुई पाटा हुन् । पर्यटनले आर्थिक विकास, सांस्कृतिक संरक्षण, रोजगारी सिर्जना र प्रदेशको पहिचान निर्माणमा ठुलो योगदान दिन सक्छ । यदि प्रदेशले आफ्नो सम्भावना पहिचान गरी समयमै पूर्वाधार सुधार, नीतिगत स्पष्टता, डिजिटल प्रवर्द्धन, सुरक्षा व्यवस्था, समुदाय सहभागिता र दीर्घकालीन योजना लागू गर्न सक्यो भने कोशी प्रदेश निकट भविष्यमा नेपालकै प्रमुख पर्यटकीय केन्द्र बन्न सक्षम छ । प्राकृतिक सुन्दरता, संस्कृति र सम्भावनाले भरिपूर्ण यो प्रदेशले विकासको नयाँ युग सुरू गर्न सक्छ त्यसका लागि शर्त एउटामात्र हो, समयमै सही रणनीति, आवस्यक बजेट र समन्वय ।
– सुन्दरहरैँचा, माेरङ





