विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
क्रिसमसको अवसरमा जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले प्रेम, शान्ति, करुणा र मानव कल्याणको सन्देश बोकेको यो पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचारा अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। इसाई धर्मगुरु येशु ख्रिष्टले देखाउनुभएको प्रेम, त्याग र क्षमाको मार्ग आजको समाजका लागि प्रेरणादायी रहेको उहाँले बताउनुभयो।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सबै धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र चाडपर्वको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नु प्रदेश सरकारको दायित्व रहेको बताउनुभयो। विविधतायुक्त पहिचान बोकेको कोशी प्रदेशमा सबै समुदायबीच आपसी सम्मान, समझदारी र एकताको भावना अझ प्रगाढ हुँदै प्रदेशको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्य प्राप्तिमा क्रिसमस पर्वले थप प्रेरणा दिने अपेक्षा गरिएको उल्लेख गर्नुभयो।





