मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचास्थित पौडेल वंश महासंघ नेपाल केन्द्रीय समितिको आयोजनामा “संगठन निर्माण तथा परिचालन अभियान (पूर्वी अभियान) तथा अष्ट–ज विशेष कार्यक्रम” भएको छ ।
अभियान देवघाटबाट पुष १ गते शुरू भई झापाको दमकमा पुगेर पुष ८ गते सम्पन्न हुनेछ। पूर्वी नेपालका १४ जिल्लाका १४ स्थानमा कार्यक्रम सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत साेमवार सुन्दरहरैँचा नगरपालिकामा आयोजित कार्यक्रममा करिब ३५० जनाको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा विशेषगरी विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । पिसजोन स्कुल इटहरी, जुपिटर, लाइटिङ ग्लोबल सुन्दरहरैँचाका विद्यार्थीहरू सक्रिय रूपमा सहभागी भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाई रहेका थिए । कार्यक्रमको सभापतित्व पौडेल वंश महासंघ नेपालका केन्द्रीय अध्यक्ष हरिराम पौडेल थिए । स्वागत मन्तव्य केन्द्रीय उपाध्यक्ष तथा सुन्दरहरैँचाका अध्यक्ष विजय पौडेलले राखेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य तथा अष्ट–ज सिद्धान्तकार प्रा.डा. दुर्गादत्त पौडेलले अष्ट–ज चेतना जागरण र पुनर्जागरणको अवधारणा, यसको ऐतिहासिक पृष्ठभूमि तथा समाज रूपान्तरणमा यसको भूमिकाबारे विस्तृत जानकारी दिएका थिए ।
कार्यक्रममाथि टिप्पणी डा. राजेन्द्र उपेती र प्रा.डा. इन्दिरा मिश्रबाट भएको थियाे । कार्यक्रमले पौडेल वंश महासंघको संगठन विस्तार, सांस्कृतिक चेतना अभिवृद्धि तथा नयाँ पुस्तालाई अष्ट–ज दर्शनप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन पौडेल वंश महासंघ नेपालका केन्द्रीय महासचिव उद्धवप्रसाद पौडेलले गरेका थिए ।
संस्थागत विकासका सन्दर्भमा आगामी २०८३ साल मंसिर महिनामा वृहत पुराण आयोजना गरिने भएको छ । हाल महासंघको भवन रहेको स्थान सुन्दरहरैँचाकाे ठडियामा २५ कठ्ठा जग्गा रहेको छ । तस्बिरहरू : मणिराम दाहाल





