मणिराम दाहाल / सुन्दरहरैँचा

माेरङकाे सुन्दरहरैँचा नगरपालिका स्थित सुकुना बहुमुखी क्याम्पसमा शुक्रबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपालमा सामुदायीक क्याम्पसका रूपमा प्रतिष्ठित तथा दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यानकृत (QAA) प्राप्त सुकुना बहुमुखी क्याम्पसले गरिव, जेहेन्दार तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको हाे। कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्र त्रिपाठी रहेकी थिइन्। उनले क्याम्पसले यति धेरै स्रोत जुटाएर विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको र गुणस्तर कायम गर्न सफल भएकोमा क्याम्पस परिवारलाई प्रशंसा गर्दै सुकुना क्याम्पसबाट विश्वविद्यालयहरू र अन्य क्याम्पसहरूले पाठ सिक्नु पर्ने बताइन् । उनले यति ठूलो रकम विश्वविद्यालय र अन्य क्याम्पसहरूले पनि जुटाउन कठिन हुने तर सुकुना क्याम्पसले स्रोत व्यवस्थापन गरेकोमा सन्तोष व्यक्त गरिन् ।

उक्त कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग नेपालबाट ७४ जनाले जम्मा रू ११ लाख ,रुक्माङ्गत कटवाल ट्रष्ट नेपालबाट २ जना विद्यार्थीले रू.६० हजार दुईसय ,नागरिक स्वाबलम्वन विकास (सिड) नेपालबाट ३१ जनाले १ लाख ५५ हजार , छात्रवृत्ति अक्षयकोषको व्याजबाट ४२ जनाले रू २ लाख ९० हजार तथा विभिन्न दाता सङ्घ/संस्थाहरूबाट ४८ जनाले रु. २ लाख ७० हजार शिक्षकहरूबाट ३ जनाले रु. २० हजार साथै क्याम्पस कोषबाट ४३ जनाले रु.९ लाख २८ हजार गरी २४३ जना विद्यार्थीहरूलाई जम्मा रु. २८ लाख ३३ हजार २ सय रकम छात्रवृत्ति स्वरुप वितरण गरिएको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले जानकारी दिए । उक्त कार्यक्रमलाई अर्का सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले सञ्चालन गर्दै छात्रवृत्ति वितरणरका आधार, मूल्याङ्कन प्रक्रिया र स्रोतको व्यवस्थापनका विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत गर्दै क्याम्पसले गरेका कामहरूको संक्षिप्त जानकारी दिएका थिए । कार्यक्रममा स्ववियुका अध्यक्ष एलिस ओझा, सल्लाहकार एवम् दाता गोपालबहादुर थापा, नागरिक स्ववलम्बन विकास (सिड) नेपालका अध्यक्ष डा. अर्जुनमणि गुरागाईँ र क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले सम्बोधन गर्दै आगामी दिनहरूमा छात्रवृत्ति कोषको बडोत्तरी गर्दै छात्रवृत्ति वितरणलाई बढवा दिने विषयमा जोड दिएका थिए ।

कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू, छात्रवृत्ति दाताहरू, अक्षयकोष दाताहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, क्याम्पस सञ्चालक समितिका सदस्यहरू, क्याम्पसका सल्लाहकारहरू, शिक्षक तथा कर्मचारीहरू र स्ववियु प्रतिनिधिहरूको उपस्थिति रहेको थियाे। उक्त कार्यक्रमको अध्यक्षता छात्रवृत्ति व्यवस्थापन समितिका अध्यक्ष एवम् क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियाे ।

तपाईको प्रतिक्रिया