मणिराम दाहाल / सुन्दरहरैचा

सुन्दरहरैंचाकाे विराटचोकस्थित कालीमन्दिर परिसरमा नेपाल राष्ट्रका ऐतिहासिक प्रथम जगतगुरू मोहनशरण देवाचार्य महाराजज्यूको सान्निध्यमा बृहत धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम २०८२ सम्पन्न भएको छ।

कार्यक्रम श्री पुरातन बैद्विक सनातन धार्मिक प्रर्वधन समिति ,स्वतन्त्र नागरिक समाज सुन्दरहरैँचा माेरङ तथा इन्द्रपुर समस्त भजन सञ्जालकाे आयाेजनामा भएको थियाे । जगतगुरू मोहनशरण देवाचार्य महाराजज्यूले समाजमा आध्यात्मिक जागरण, नैतिक मूल्य, चरित्र निर्माण, मानवता र राष्ट्रप्रेमको आवश्यकता औंल्याउँदै धर्म केवल आस्थामा सीमित नभई व्यावहारिक जीवनमा उतारिनुपर्ने कुरामा जोड दिनु भयाे । उहाँलाई कार्यक्रममा नागरिक अभिनन्दन गरिएकाे थियाे।

कार्यक्रममा आयाेजक तीन वटै संस्थाका प्रमुखहरू क्रमशः जयप्रसाद खतिवडा, गीता गौतम लम्साल र नेत्र चौलागाईँ लगायतले अभिनन्दन गर्नुभएको थियो । वैदिक मन्त्रोच्चारण तथा पञ्चेबाजाका साथ भएको अभिनन्दन समारोहमा स्थानीयबासीको उत्साहपूर्वक उल्लेख्य सहभागिता रहेको थियो ।

सोही अवसरमा सुन्दरहरैंचा–१० स्थित हिमालय इंगलिस बोर्डिङ्ग स्कूलका विद्यार्थीहरूले प्रस्तुत गरेकाे स्वागत नृत्य अत्यन्त आकर्षक, मनमोहक र सांस्कृतिक पहिचान झल्काउने खालको रह्यो । कार्यक्रममा झाँक्री -यालीका साथमा लाखे नृत्य भएको थियाे । कार्यक्रममा हिमालय इग्लिस स्कुल सुन्दरहरैँचाका प्रिन्सिपल कमल खनाल तथा डेल्टा ई .स्कुल बेलबारीका संस्थापक अध्यक्ष पर्वत राईलाई अन्तर्राष्ट्रिय सम्मान पाएकाे भनी कार्यक्रममा सम्मान गरिएको थियाे ।

कार्यक्रममा काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सांसद सुनिलकुमार शर्मा , नयाँ वृद्वावन गाैशालाका संस्थापक संरक्षक दिनबन्धु शास्त्री लगायतले बाेलेका थिए। कार्यक्रमले स्थानीय क्षेत्रमा धार्मिक, सामाजिक तथा सांस्कृतिक एकता, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गरेको स्वतन्त्र नागरिक समाज मोरङ अध्यक्ष नेत्र चौलागाईंले बताएका छन्। कार्यक्रममा स्थानीय धार्मिक अगुवाहरू, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, भक्तजन तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया