माेरङ / हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत आगामी निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । उनी हालै गठन भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’बाट उम्मेदवार बन्ने भएका हुन् ।

बस्नेतलाई मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउने विषयमा अनौपचारिक तहमा बलियो तयारी भइरहेको पार्टीका अध्यक्ष तथा समाजशास्त्री दिनेश प्रसाईंले बताए । यद्यपि, पार्टीले यसबारे औपचारिक निर्णय गर्न भने बाँकी छ । ‘अहिलेसम्मको हाम्रो र उहाँको (वीरेन्द्र बस्नेतको) पनि योजना त्यही नै हो,’ अध्यक्ष प्रसाईंले भने, ‘यद्यपि पार्टीले आधिकारिक निर्णय गरिसकेको छैन । तर, हाम्रो अनौपचारिक तयारी यही हो ।’

बस्नेत मोरङका लागि परिचित अनुहार हुन् र उनको लगानी तथा व्यावसायिक संलग्नताले स्थानीय स्तरमा चर्चा हुने गरेको छ । मोरङ क्षेत्र नम्बर ३ मा गत चुनावमा कांग्रेसका सुनिल शर्माले जितेका थिए । कांग्रेसबाट उनै उम्मेदवार हुने चर्चा छ । एमालेले भने नयाँ उम्मेदवार खोज्ने नेताहरू बताउँछन् । गत चुनावमा एमालेका भानुभक्त ढकाल उम्मेदवार बनेका थिए ।।अध्यक्ष प्रसाईंका अनुसार ‘गतिशील लोकतान्त्रिक पार्टी’ कुनै दलसँग गठबन्धन नगरी आफ्नै एजेन्डामा आधारित भएर राजनीति गर्न स्थापना भएको हो ।

पार्टीले ‘समृद्धि, समता र स्वाभिमान’लाई आफ्नो मूल उद्देश्य बनाएको छ । यो उद्देश्य प्राप्तिका लागि पार्टीले सुशासन, उद्यमशीलता र दिगो रोजगारीलाई मुख्य आधार बनाउने जनाएको छ । प्रसाईंले भ्रष्टाचारमुक्त शासन, देशमा रोजगारी र सम्पत्ति सिर्जना गर्न उद्यमीहरूलाई प्रोत्साहन तथा युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न दिगो रोजगारीका अवसर सिर्जना गर्ने पार्टीको लक्ष्य रहेको बताए । पार्टीले आगामी चुनावमा वीरेन्द्र बस्नेतजस्ता राजनीतिमा नयाँ तर आफ्नो क्षेत्रमा सफल र स्वच्छ छवि भएका व्यक्तिहरूलाई प्राथमिकता दिने नीति लिएको उनले बताए ।

.पुराना पार्टीमा रहेर पनि राम्रो काम गरेका र पार्टीको एजेन्डामा सहमत हुने व्यक्तिहरूका लागि ढोका खुला रहने प्रसाईंले बताए । ‘हाम्रो मुख्य प्रश्न उम्मेदवारले हाम्रो एजेन्डामा कसरी योगदान दिनुहुन्छ भन्ने हो । व्यक्तिको स्वच्छता र इमान्दारिता हाम्रो पहिलो शर्त हुनेछ,’ प्रसाईंले भने । बस्नेतले भने यस विषयमा केही बोलेका छैनन् । दुई वर्ष अगाडिदेखि नै पार्टी खोल्ने तयारी रहेको प्रसाईंले बताए । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय गरेको छ ।

तपाईको प्रतिक्रिया