मणिराम दाहाल / सुन्दरहरैँचा

माेरङकाे सुन्दरहरैँचा ८ स्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उपभोक्ता सेवा सुधार र विस्तारलाई प्राथमिकता दिँदै अगाडि बढेको छ ।

समितिका अनुसार ग्राहक संख्या बढाउने लक्ष्यका साथै प्राविधिक, व्यवस्थापकीय र सरसफाइका पक्षमा सुधारका कार्यहरू तीव्र रूपमा अघि बढाइएको छ । सचिव सुरेश दाहालका अनुसार हालसम्म समितिमा आवद्ध २,५०० उपभोक्ता संख्या बढेर २,६३२ पुगेको छ। “हामीले सेवा गुणस्तर सुधार, पारदर्शिता र समयमै वितरणमा विशेष ध्यान दिएका छौँ,” सचिव दाहालले बताए।

त्यस्तै समितिका अध्यक्ष रामकुमार तामाङले भने, “हामी सिसि क्यामेरा र कम्पाउन्ड लाइट जडान गरी सुरक्षा र पारदर्शिता बढाउँदैछौँ। सफ्टवेयर प्रणालीलाई परिमार्जन गरेर कार्यालय व्यवस्थापनलाई अझ प्रभावकारी बनाएका छाैँ । ७, ८, ९ र ११ नं. वडा लगायतमा खानेपानी सेवा विस्तार हाम्रो मुख्य लक्ष्य हो।”

समितिले माथिल्लो पानी ट्याङ्कीको नियमित सफाइ र ल्याब परीक्षणलाई निरन्तरता दिएको छ। उपभोक्ताको घरसम्म पुग्ने पानी जुनसुकै समयमा निःशुल्क परीक्षण गर्न सकिने व्यवस्था पनि गरिएको छ।

यसैगरी, नियमित रूपमा नालाहरू वासआउट गर्ने, परिसरमा लामो समयदेखि रहेका झाडी र अनावश्यक पाइपहरूको व्यवस्थापन गर्ने कार्य गरिएको समितिले जनाएको छ।

सचिव दाहालले थपे, “हामीले कर्मचारी संख्या विस्तार गरी कामलाई अझ तीव्र बनाउने तयारी गरेका छौँ। नयाँ समितिले उपभोक्ताको विश्वास जित्दै विविध सकारात्मक काम गर्दै आएको छ।”

स्थानीयवासीले समितिको सक्रियता र पारदर्शी कार्यप्रति सन्तोष व्यक्त गरेका छन्। समितिले आगामी दिनमा अझ प्रभावकारी र व्यवस्थित खानेपानी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। हालसम्म नगरको ७, ८, ९ र ११ वडाको लागि सलकपुर खानेपानीले सुविधा दिएको छ । खानेपानीको दुईवटा टंकीमा ६ लाख ७५ हजार लिटर पानी भण्डारण क्षमता रहेको छ ।

तपाईको प्रतिक्रिया