सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकाका विभिन्न वडाहरूमा अविरल वर्षाका कारण धानबालीमा नराम्ररी क्षति पुगेको छ।
नगरपालिकाभित्र कुल ५,०५४ हेक्टर खेतयोग्य जमिन रहेकोमा ४,०३० हेक्टर क्षेत्रफल धान खेतीका लागि उपयुक्त छ। यस वर्ष किसानहरूले ३,८२८ हेक्टर (झण्डै ९५ प्रतिशत) क्षेत्रमा धान रोपेका थिए। हालसम्म करिब १० प्रतिशत धान भित्र्याइसकिएको, ५ प्रतिशत काटेर सुकाउने क्रममा रहेको र बाँकी ८५ प्रतिशत धान बोटमै पाकेको अवस्थामा रहेको कृषि शाखाका प्राविधिक सुदीप भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार निरन्तर वर्षा जारी रहेमा पाकेको धानको करिब ५० प्रतिशतसम्म क्षति हुन सक्ने सम्भावना छ।
वडा नम्बर १ का वडाअध्यक्ष रामविश्वास खवासका अनुसार केही किसानले धान काटिसकेका र केहीले काट्न बाँकी रहेका छन्। तर अविरल वर्षाका कारण काटेको र नकाटेको दुबै धान डुबानमा परेको बताए ।
त्यसैगरी वडा नम्बर २ का वडाअध्यक्ष विवश प्रधानले मुख्य धान उत्पादन हुने वडामा काटिएको र नकाटिएको सबै धान डुबेको जानकारी दिए । वडा नम्बर ३ का वडाअध्यक्ष विदुर ढुंगानाका अनुसार तोरी लगाइसकेको खेतसमेत अहिलेको वर्षाले डुबानमा पारेको छ।
वडा नम्बर ४ का वडाअध्यक्ष कैलाश बस्नेतले पाकेको र नयाँ लगाइएको बाली दुवैमा ठूलो क्षति पुगेको बताए । वडा नम्बर ५ का वडाअध्यक्ष गणेश चौधरीले बुढी खोलाले अधिकारी गल्ली क्षेत्रमा कटान गरेको र धान तथा अन्य बालीमा सामान्य क्षति पुगेको जानकारी दिए ।
वडा नम्बर ६ का वडाअध्यक्ष सन्तोष लिङ्देनका अनुसार काटेर सुकाएको धान, तोरी तथा हिउँदे बाली सबैमा ठूलो क्षति पुगेको छ। वडा नम्बर ७ का भुवनसिंह आले मगर र वडा नम्बर ८ का खेमप्रसाद न्यौपानेले भने आफ्ना वडामा सामान्य क्षति मात्र पुगेको जनाए ।
धान र तरकारी उत्पादनका दृष्टिले उत्कृष्ट मानिने वडा नम्बर ११ का वडाअध्यक्ष विशमलाल चौधरीले सबै धान पाकिसकेको अवस्थामा आएको वर्षाले धान र तरकारी दुबै बाली डुबानमा पारेको र किसानहरू ठूलो मारमा परेका बताए ।
वडा नम्बर १२ का वडाअध्यक्ष रोशनप्रसाद ढकालले पनि वर्षाका कारण खेतहरू जलमग्न भएको र कतिपय स्थानमा पैनी भत्किएर पानी खेतमा पस्ने समस्या देखिएको जानकारी दिए ।
नगर प्रमुख केदारप्रसाद गुरागाईंले धान तथा अन्य कृषि बालीमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै डुबान क्षेत्रको पानी कटाउने कार्य भइरहेको बताए । उनका अनुसार बालीमा पुगेको क्षतिको विवरण चाँडै अनुगमन गरी प्रतिवेदन तयार पारिनेछ।





