सुन्दरहरैँचा / आज कार्तिक शुक्ल एकादशी, अर्थात् हरिबोधिनी ठूलो एकादशी । हिन्दू सनातन परम्परा अनुसार आजको दिन भगवान् विष्णु शयनबाट जाग्रित हुने दिनका रूपमा मनाइन्छ ।
हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुली एकादशी भनिएको हो । यसै अवसरमा देशभरका भक्तजनले तुलसी विवाह गरी धार्मिक उल्लासका साथ यो पवित्र पर्व मनाउँदैछन् । आषाढ शुक्ल एकादशीका दिन आँगनमा तुलसी रोपेर सुरु हुने चतुर्मास व्रत आजबाट औपचारिक रूपमा समाप्त हुन्छ । चार महिनासम्म तुलसीलाई ‘विष्णुप्रिया’का रूपमा आराधना गरिन्छ र हरिबोधिनी एकादशीका दिन भगवान् विष्णुसँग तुलसीको विवाह गरिन्छ ।
पौराणिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीका दिन भगवान् विष्णुले क्षीरसागरमा शयन गर्छन् र चार महिनापछि हरिबोधिनी एकादशीका दिन जाग्रित हुन्छन् । त्यसैले यो दिनलाई “हरिबोधिनी” भनिएको हो, जहाँ “हरि” भनेको विष्णु र “बोधिनी” भनेको उठ्ने (जाग्ने) अर्थमा प्रयोग भएको छ । यस पर्वलाई अन्य एकादशीहरूभन्दा विशेष र फलदायी मानिन्छ। भविष्योत्तर पुराणमा उल्लेख भएअनुसार, यस दिन गरिने स्नान, दान, जप, तप र उपवासका कार्यले अक्षय फल प्रदान गर्छन् ।
पौराणिक कथन अनुसार, भगवान् कृष्णले पाण्डव युधिष्ठिरलाई भनेका थिए, “हरिबोधिनी एकादशीमा गरिने पूजा सर्वाधिक फलदायी हुन्छ ।”आजको दिन देशभरका विष्णु र नारायण मन्दिरहरूमा विशेष पूजाअर्चा गरिँदैछ । भक्तजनहरूले बिहानै स्नान गरी उपवास बसेर नारायणको आराधना गर्छन् भने भोलिपल्ट द्वादशी तिथिमा हवन र विसर्जन गरी व्रत समापन गर्छन् ।
खगोलीय गणनाअनुसार, शनिबार राति २ बजेर ५६ मिनेटसम्म (५१ घडी ४१ पला) एकादशी तिथि रहने पञ्चाङ्गविद्हरूले बताएका छन्। यसै दिनबाट भीष्म पञ्चक व्रत पनि सुरु हुने परम्परा छ । भीष्म पञ्चकदेखि पूर्णिमासम्मको पाँच दिन भगवान् विष्णुको विशेष आराधना र सत्कर्म गर्नेलाई मोक्ष प्रदान गर्ने विश्वास छ । काठमाडौँ, पशुपतिनाथदेखि जनकपुर र बुटवल लगायत पूर्वी नेपालका विभिन्न स्थानका विष्णु मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ।
श्रद्धालुहरूले तुलसीको माला, दीप र भगवान् विष्णुको मूर्तिमा तुलसी दल अर्पण गर्दै परिवारको सुख–समृद्धिका कामना गरेका छन् । पण्डितहरूले हरिबोधिनी एकादशीलाई “देव जागरण र धर्म पुनःसञ्चालनको प्रतीक”का रूपमा व्याख्या गर्छन्। उनीहरूका अनुसार, “यो दिन आध्यात्मिक जीवनमा शुद्धता र पुनर्जागरणको सन्देश दिन्छ, जसले मनुष्यलाई धर्म, सत्य र सत्कर्मको मार्गमा अग्रसर गराउँछ ।”आजको दिनले केवल धार्मिक अर्थ मात्र होइन, पर्यावरणीय र सांस्कृतिक सन्देश पनि दिन्छ-तुलसी रोप्ने, पूजा गर्ने र विवाहको रूपमा संरक्षण गर्ने परम्पराले प्रकृति र श्रद्धाको गहिरो सम्बन्ध उजागर गर्छ।हरिशयनी एकादशीबाट चीर निद्रामा सुतेका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले आजको एकादशीलाई विशेष मानिन्छ ।





