मणिराम दाहाल / सुन्दरहरैंचा
पूर्वी नेपालका मोरङ, झापा र सुनसरीका किसानहरू बेमौसमी वर्षा र हावाहुरीका कारण चिन्तित बनेका छन्।
निरन्तर परेको वर्षाले काट्न लागेको धान खेतमै डुबाएको छ भने पाक्न लागेको बाली समेत ढलेर नष्ट भएको छ। बिहीबार बेलुकादेखि शुक्रबार दिनभरी निरन्तर परेको अविरल वर्षाले सुन्दरहरैंचा, बुढीगंगा, बेलबारी नगरपालिका र आसपासका क्षेत्रका खेतबारी जलमग्न बनेका छन्। किसानका काटेका धान, भर्खरै रोपिएका आलु र तोरी, तरकारी बालीमा व्यापक क्षति पुगेको स्थानीय कृषककाे भनाइ रहेको छ ।
सुन्दरहरैंँचा नगरपालिका ७ गोठगाउँका कृषक शारदा रिमालले भनिन् “भर्खरै रोपेको आलुमा पानी जमेर सबै सड्यो। खेतैमा पानी छ, केही गर्ने उपाय छैन। खर्च त गयो, अब कसरी पछि तरकारीकाे जाहाे गर्ने भन्ने चिन्ता छ।”
त्यसैगरी, स्थानीय कृषक मन्जु तिम्सिनाले भनिन् “तोरी र आलु छर्न जोतेर तयार पारेको खेत पुरै पानीले ढाकेको छ। खेतमा पस्नै सकिएको छैन, खेत र बाली दुबै डुबानमा छन्।”
सुन्दरहरैँचा नगरपालिका कृषि शाखाका अनुसार लगातारको वर्षाले सुन्दरहरैंचाको धान, आलु, तोरी र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ। उत्पादनमा कम्तीमा ३०–४० प्रतिशतसम्म ह्रास हुने अनुमान गरिएको छ।
सुन्दरहरैंचा नगरपालिका ११ का अगुवा कृषक मोहनलाल श्रेष्ठले भने “टमाटर र फूलकोपीका बिरूवा विउमै सड्न थालेका छन्। मुसलधारे पानीले तरकारी खेती बिग्रँदै गएको छ।” उनले १० कठ्ठामा राेपेकाे कोपी , टमाटर तथा ७ हजार भन्दा बढी तरकारीकाे बिरूवा नर्सरी साथै पाकेको धान १ विघामा नक्सान पुगेको बताए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, बङ्गालको खाडीमा उत्पन्न ‘मोन्था’ चक्रवातको आंशिक प्रभावका कारण नेपालका पूर्वी र दक्षिणी भूभागमा भारी वर्षा भएको छ। पछिल्लो २४ घण्टामा मोरङकाे हरैंचामा २१० मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जुन देशभरकै उच्च हो।
विभागका अनुसार, कोशी र मधेस प्रदेशका केही स्थानहरूमा मध्यमदेखि भारी वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।मौसमविद्हरूका अनुसार, ‘मोन्था’ चक्रवात अहिले भारतको मध्य प्रदेश आसपास कमजोर हुँदै गएको भए पनि त्यसको वाष्पयुक्त हावाका कारण अझै केही समयसम्म वर्षा जारी रहनेछ।
निरन्तरको वर्षाले यहाँको बुढी खोला, गछिया खोला, सुकुना र किस्ती खोलाको वहाव बढेको छ भने यातायात र जनजीवन प्रभावित बनेको छ। स्थानीय प्रशासनले सतर्क रहन अनुरोध गरेको छ। विभागले भनेको छ “शनिबारदेखि मौसममा सुधार आउने देखिन्छ। तर यसबीचमा अनावश्यक यात्रा नगर्न र खेतबाली नकट्न सुझाव दिइन्छ।”





