– छवि वैरागी घिमिरे

आत्मा भन्छ ………!
हे भगवान्
संसारका सबै मन्दिर घुमेँ
घण्टी बजाएँ, दीप बालेँ
शास्त्रका पाना पल्टाएँ
तर तिमी भेटिएनौ
कहाँ लुक्यौ तिमी ?

भगवान् उत्तर दिन्छन् ……….!
म लुकेको थिइनँ आत्मा
तैँले तेरै आँखाभित्र फर्केर हेरिनस्
बरु ढुङ्गाको मूर्तिमा फूल चढाइरहिस्
तर म तेरो श्वासभित्र प्रतीक्षा गरिरहेको थिएँ।

आत्माले फेरि सोध्छ …….!
के म मन्दिर बनूँ त ?
के मेरो मौनतामा तिमी बस्न सक्छौ ?

भगवान् मुस्कुराउँछन् …….!
हो,जब तैँले मौनता रोज्छ्स्
तब अहङ्कार बिस्तारै शून्य हुन्छ
त्यो शून्यमै म उदाउँछु
जस्तो उषाको पहिलो किरण धर्तीभित्र पस्छ ।

आत्मा सोच्न थाल्छ ………!
मैले त जीवन बाहिर खोजेर बिताएँ
तर देवता त भित्रै निदाएकारहेछन्
अब म मन्दिरमा होइन
आफ्नै अन्तरआत्मामा दीप बाल्ने छु।

भगवान् शान्त स्वरमा भन्छन् ………!
त्यो दीप नै धर्म हो
त्यो उज्यालो नै मुक्तिको बाटो हो
मरेर लैजानु त के छ र यहाँ ?
न धन, न कीर्ति, न शरीर
साथ जाने त केवल त्यो आत्मा हो ।

जो सत्यमा विलीन हुन्छ
जस्तै शरीरको हावा निस्किएपछि हावामा मिसिन्छ।

– मोरङ

तपाईको प्रतिक्रिया