सुन्दरहरैँचा / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहिवार बिहान ११ः३९ बजे रहेको उल्लेख गरेको छ ।

समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीका लगाउने साइत उत्तम रहेको छ। समितिका सदस्य प्रा.देवमणि भट्टराईका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तलाई शुभ मानी टीका लगाउने समय तोकिएको हो। उनका अनुसार राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, सर्वसाधारणले भने मध्याह्नकालमा लगाउँदा कुनै समस्या हुँदैन।

आज बिहान सबेरैदेखि घर-घरमा चहलपहल सुरू भएको छ । दिदीबहिनी दाजुभाइहरू हर्षका साथ टीका लगाउन चाँजोपाँजो मिलाउँदै गरेका छन् । झिलिमिली, उज्यालो, पशुपंक्षीको पूजा, भाइबहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसी भैलो, तथा नेपाल संवत् को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको तिहार आएको छ । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरू भएको थियाे ।

पूजा पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति प्राप्त हुन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाइदिएपछि दिदीबहिनीले उपहार दिन्छन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसार वस्त्र तथा दक्षिणा आदि प्रदान गरि भाइटिका पर्व धुमधामसँग मनाइन्छ ।

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा(मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेश को पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ ।

भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्गकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका पहेंलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो सात रङ्गका टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ । सप्तरङ्गी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ ।

धार्मिक रूपमा, भाइ टीका केवल एक सांस्कृतिक परम्परा मात्र होइन; यो दैवी शक्तिहरू द्वारा मान्यता प्राप्त हेरचाह र सुरक्षाको पवित्र व्रत हो। यसले पारिवारिक एकता, सम्मान, र प्रियजनहरूलाई नकारात्मक प्रभाव र दुर्भाग्यबाट जोगाउन प्रार्थनाको शक्तिको हिन्दु मूल्यहरूलाई प्रतिबिम्बित गर्दछ। यस अनुष्ठान मार्फत, दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई रोग, दुष्टता र अकाल मृत्युबाट बचाउन खोज्दै ईश्वरीय आशीर्वाद माग्छन्। दाजुभाइहरूले जीवनभर आफ्ना दिदीबहिनीहरूलाई सहयोग र सुरक्षा गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्छन्।

तपाईको प्रतिक्रिया