सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैँचा १२ स्थित स्वर्गीय दुर्गाप्रसाद ढकाल तथा स्वर्गीय छायाँदेवी ढकालको १२औँ पुण्यतिथीको अवसरमा “दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष” स्थापना गरिएको छ।
ढकाल दम्पतीका छोरा–बुहारी गणेशप्रसाद ढकाल र श्रीमती शशी ढकाल तथा गोपाल ढकाल र श्रीमती योजना शर्मा ढकालले संयुक्त रूपमा रु. २ लाख १ हजार बराबरको बैंक चेक सुकुना बहुमुखी क्याम्पस प्रशासनलाई हस्तान्तरण गरे । ढकाल दम्पतीका छाेरा बुहारी “दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष ” काे संरक्षक रहेका छन् ।
क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले उक्त कोषले उत्कृष्ट विद्यार्थी प्रोत्साहन, शैक्षिक विकास र सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
ढकाल परिवारका अनुसार, समाज र शिक्षाप्रतिको लगावले परिचित स्व. दुर्गाप्रसाद तथा स्व. छायाँदेवी ढकालको आदर्श मूल्यलाई दीगो रूपमा जगेर्ना गर्ने उद्देश्यले कोष स्थापना गरिएको हो। कार्यक्रममा सहभागीहरूले ढकाल दम्पतीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारको यो कदमलाई प्रेरणादायी उदाहरणको रूपमा व्याख्या गरेका थिए ।





