सुन्दरहरैँचा / पछिल्लो समय महँगा महँगा होटेल तथा रेस्टुरेन्टमा गएर आफ्नो जन्मोत्सव मनाउने चलन छ । तर बेलबारीका डिल्लीबहादुर थापाले भने असहाय बालबालिकासँग बसेर आफ्नो जन्मोत्सव मनाएका छन् । पूर्व जनप्रतिनिधि रहेका थापाले इटहरी –४, सुनसरीमा रहेको निसहाय बालबालिका सेवा आश्रमका बालबालिकासँग बसेर आफ्नो ९३ ओैँ जन्मोत्सव मनाएका छन् ।

१९९० साल असोज २८ गते साबिकको पोखरे गाविस –२, हालको चिसङ्कुगढी गाउँपालिका –२, ओखलढुङ्गामा जन्मिएका थापा पछिल्लो समय बेलबारी –२, लालभित्ती, मोरङमा बस्तछन् । काइँला छोरा हेमराजसँग बस्तै आएका उनी राजनीतिका माध्यमबाट समाज सेवा गर्दै आएका व्यक्ति हुन् । उनी साबिकको हरैँचा गाउँ पञ्चायतका पूर्व उपप्रधानपञ्चसमेत हुन् ।

डिल्लीबहादुरकी काइँली काइँली बुहारी एलिजा थापाले भनिन्, ‘बुवाले लामो समयसम्म समाजसेवा गर्नुभयो, पछिल्लो समय केही अस्वस्थ्य रहेर घरमै आराम गरिरहेका छ । गत वर्ष आमा बित्नुभयो । आमा बितेपछि बुवा केही एक्लो महसुस गर्नुभएको जस्तो लाग्यो । त्यही भएर हामीले परिवार मिलेर बुवाको जन्मोत्सव बालबालिकासँग मनाउने योजना बनाइएका हौँ ।’

अनाथ तथा असहाय बालबालिकासँग बसेर जन्मोत्सव मनाउनुलाई साहित्यकार केशु विरही सकारात्मक रूपमा लिन्छन्  । विगत २ वर्षदेखि ज्येष्ठ नागरिककै विषयमा अनुसन्धान गरिरहेका विरही यसले अरूलाई पनि प्रेरणा मिल्ने बताउँछन् । उनी भन्छन्, ‘अनुसन्धानका क्रममा मैले उहाँलाई नजिकबाट चिन्ने अवसर पाएको छु । उहाँको यो कार्य धेरैका लागि प्रेरणा बन्न सक्छ ।’

धेरैजसो व्यक्ति अनाथ तथा अशक्त भन्ने बित्तिकै परपरै भाग्छन्, केहीले त यस्ता व्यक्तिलाई दोस्रो दर्जामा राख्छन् । तर डिल्लीबहादुर हजुरबुवाले भने त्यस्ता असहाय बालबालिकालाई माया गर्ने गरेको बालबालिकाकै क्षेत्रमा लामो समयदेखि काम गरिरहेका नवराज पोखरेल बताउँछन् ।

निसहाय बालबालिका सेवा आश्रमकी संस्थापक गीता गौतमले यस्ता सामाजिक व्यक्तिको जन्मोत्सव मनाउन पाएकामा आफूहरूलाई निकै खुसी लागेको बताइन् ।
उक्त अवसरमा थापाको परिवारले बालबालिकालाई खाजा खुवाउनुका साथै संस्थालाई केही आर्थिक सहयोगसमेत गरेको थियो ।

तपाईको प्रतिक्रिया