सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–७ स्थित गोठगाउँमा रहेको एनएनसीसी कलेजमा नेपाल बप्तिस युवा सङ्गतिको ३० औँ वार्षिकोत्सव शुरू भएको छ ।
वार्षिकोत्सवको उद्घाटन सत्रमा नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी अनिता बस्नेत र हीराकुमारी भुजेललाई सम्मान गरिएको थियो । त्यस्तै, आस्था रत्न सम्मानद्वारा रत्नबहादुर राईलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा बप्तिस युवा सङ्गतिको डायस्पोरा मिनिस्टरीको घोषणा पनि गरिएको थियो । क्यानडा, जापान, कोरिया, युएई, बेलायत र अमेरिकाका डायस्पोरा मिनिस्टरीको नाम घोषणा गरिएको हो । त्यस्तै बप्तिस स्पोर्टस् क्लबको आधिकारिक घोषणा पनि कार्यक्रममा गरिएको थियो । सम्मानित खेलाडी बस्नेत र भुजेलले बप्तिस स्पोर्टस् क्लबको झण्डोत्तोलन गरेका थिए ।
बप्तिस युवा सङ्गतिका संस्थापकहरुलाई पनि कार्यक्रममा सम्मानपत्र प्रदान गरिएको थियो । अध्यक्ष गजेन्द्र तामाङ, उपाध्यक्ष विनय बस्याल, सचिव अर्जुन गुरुङ, कोषाध्यक्ष थामसिंह राई, सदस्यहरू शान्ति राई, महेन्द्रजंग साम्पाङ, जीरमान राई र चन्द्रा राईलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल बप्तिस चर्च काउन्सिलका अध्यक्ष राजेन्द्र मल्ल रहेका थिए । कार्यक्रममा राष्ट्रिय गानका रचयिता व्याकुल माइला तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पीताम्बर तिम्सिनाले शुभकामना मन्तव्य राखेका थिए । शङ्कर रसिकले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सभापतित्व नेपाल बप्तिस युवा संगतिका अध्यक्ष डेभिड राईले गरेका थिए । नवल सिवाकोटीले सञ्चालन गरेकाे कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति रहेको थियो । दुई दिने वार्षिकोत्सव साेमवार समापन हुनेछ ।





