;

मणिराम दाहाल / सुन्दरहरैँचा

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको उल्लाससँगै आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै छ। बिहान कुकुरलाई माला, टीका लगाएर मिठा परिकार खुवाई पूजा गरिन्छ । साँझ घरआँगन सफा गरी दीप प्रज्वलन गर्दै धनकी देवी लक्ष्मीको आराधना गर्ने परम्परा छ।

धार्मिक, सांस्कृतिक तथा पारिवारिक महत्त्व बोकेको तिहारले गाउँघरदेखि सहरबजारसम्म उत्साह, उमङ्ग र रौनक थपेको छ ।तिहार नेपालीहरूको दोस्रो ठूलो पर्व मात्र होइन, मौलिक संस्कृति, परम्परा, आत्मीयता र पारिवारिक खुसीको अनुपम सङ्गम पनि हो। तिहारका विशेष दिनमा गाउँघरका आँगनदेखि सहरका गल्लीसम्म देखिने रौनक, परम्परागत घरको सजावट, मिठाईका परिकारको सुगन्ध र पटाकाको आवाजले वातावरणलाई उल्लासमय बनाउने गर्दछ।

हरियो घाँस खाएर गाईले गोबर्याएको गोबर अनि त्यही गोबरले लिपेको हरियो नेपथ्यको रङ्ग झल्काउने, पुरापुरी ओभानो नभइसकेको आँगन तिहारको मौलिक पहिचान हो। कमेरो माटो वा रातो माटोले पोतेका घरका भित्ता, हरियो गोबरले लिपिएका केराका थम्बाबाट बनाइएको द्वार र थम्बामा दियो राख्न बाँसका साना–साना टुक्रा घुसारेर बनाइएका टेकोहरूले गाउँघरको तिहारलाई अझ आकर्षक बनाउने गर्दछन्।

आँगनमा पकाइएका सेलरोटी, अर्सा र अनर्साको मिठो वासना चारैतिर फैलिँदा तिहारको छुट्टै अनुभूति हुन्छ। घरपरिवारका सदस्यहरू मिलेर परिकार तयार पार्ने, घरआँगन सजाउने र दियो बाल्ने परम्पराले परिवारबीचको आत्मीयता तथा सद्भावलाई थप प्रगाढ बनाउँछ।

तिहारको उल्लासलाई अझ रोमाञ्चक बनाउने अर्को पक्ष हो—पटाका र आतसबाजी। प्याट्ट–पुट्ट पड्किरहेका पटाका, झिरझिर आवाज निकाल्दै चम्किरहेका झिरझिरे तथा आकाश छुँला जस्तो गरी उज्यालोको फोहोरा छर्ने फूलझरीले साँझको वातावरणलाई झिलिमिली र रमाइलो बनाउने गर्दछन्। दियो, मैनबत्ती र विद्युतीय बत्तीको उज्यालोले सजिएका घर तथा आँगनले तिहारको रौनकलाई थप जीवन्त बनाउँछन्।

यद्यपि, पछिल्लो समय आधुनिक जीवनशैली र सहरीकरणसँगै तिहार मनाउने तौरतरिकामा परिवर्तन आएको छ। परम्परागत गोबरले लिप्ने आँगन, माटोले पोतेका घर र केराका थम्बाबाट बनाइने द्वार कतिपय ठाउँमा हराउँदै गएका छन्। तर, मौलिक संस्कृति र परम्परालाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नु तिहारको वास्तविक महत्त्व हो।

तिहारले धार्मिक आस्था, सांस्कृतिक पहिचान, पारिवारिक प्रेम, भाइचारा र सामाजिक सद्भावको सन्देश दिने गर्दछ। परम्परागत रौनकसँगै सुरक्षित तथा वातावरणमैत्री ढङ्गले पर्व मनाउन सके तिहारको खुसी अझ अर्थपूर्ण बन्नेछ। गोबरले लिपेको आँगन, सेलरोटीको सुगन्ध, दियोको उज्यालो र फूलझरीको चमक—यिनै हुन् नेपाली तिहारका अमूल्य सम्झना र मौलिक पहिचान।

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज कुकुर तिहार मनाइँदै छ। यमपञ्चकको दोस्रो दिन मनाइने यस पर्वमा कुकुरलाई इमानदारी, बफादारी र सुरक्षाको प्रतीकका रूपमा सम्मान गर्दै पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ।

यस दिन कुकुरलाई माला लगाइदिने, निधारमा टीका लगाउने र मिठा परिकार तथा मनपर्ने खानेकुरा खान दिने चलन छ। धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूतका रूपमा लिइन्छ। यमराजका द्वारपालका रूपमा श्याम र सबल नामका दुई कुकुर रहेको विश्वाससमेत गरिन्छ।

कुकुर मानिसको विश्वासिलो साथी र घरको सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्राणी हो। त्यसैले यस दिन घरमा पालिएका कुकुरसँगै सडकमा रहेका कुकुरलाई समेत भोजन गराएर माया र सम्मान प्रकट गर्ने गरिन्छ। कुकुर तिहारले मानिस र पशुपन्छीबीचको आत्मीय सम्बन्ध, जीवप्रतिको दया, करुणा र सहअस्तित्वको सन्देश प्रवाह गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

;