;

मणिराम दाहाल / सुन्दरहरैँचा

‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार हेर्नलाई उठ…।’ नेपथ्यको यो चर्चित गीत गुञ्जिँदा बुधबार साँझ इटहरी रंगशाला हजारौँ दर्शक स्रोताको उत्साहले जुरुक्कै उठ्यो।

आकाशमुनि हजारौँ हात एकसाथ हल्लिए, दर्शकका स्वर गीतसँगै मिसिए र सिंगो रंगशाला देशप्रेम, संगीत र उमंगले तरंगित बन्यो। नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा दिएको लाइभ प्रस्तुतिले पूर्वी नेपालको सांगीतिक क्षेत्रमा एउटा अविस्मरणीय साँझ थपेको छ। नेपथ्यका मुख्य गायक अमृत गुरुङको जादुमय स्वर, जीवन्त प्रस्तुति र चर्चित गीतमा झुमेका हजारौँ दर्शकले इटहरी रंगशालालाई सांगीतिक उत्सवमा परिणत गरेका थिए।

साँझ ६ बजेपछि स्टेजमा उक्लिएका गुरुङले ‘तिहारको तयारीका बेला अनि धान काट्ने बेला नमस्ते इटहरी, नमस्ते कोशी प्रदेश’ भन्दै दर्शकलाई अभिवादन गरे। उनको आत्मीय अभिवादनसँगै दर्शकले हुटिङ, ताली र हात हल्लाएर स्वागत गरे। ‘इटहरीमा गाउन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो, आज मौका जुर्‍यो,’ गुरुङले भने। लामो समयदेखिको आफ्नो चाहना पूरा भएको सुनाउँदै उनले इटहरीमा पहिलोपटक प्रस्तुति दिन पाउँदा खुसी व्यक्त गरे। उनको यो भनाइले दर्शकमा थप उत्साह भरियो।

करिब ३५ वर्षदेखि नेपाली संगीतप्रेमीको मनमा बस्न सफल नेपथ्यले आफ्नो सांगीतिक यात्राका लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई पुराना सम्झना र नयाँ उमंगमा डुबायो। ‘गाउँ गाउँबाट उठ’, ‘रेशम’, ‘ए साइँला ए साइँली’, ‘तालको पानी’, ‘सुन सुन साइँली’, ‘कर्णाली’, ‘पोखरा बजार’, ‘जोमसोमे बजारमा’, ‘रुकुम’ लगायतका गीतले रंगशालाको माहोल चिसाे साँझमा तातिएकाे थियाे । ‘जोमसोमे बजारमा बाह्र बजे हावा सरर…’ गुञ्जिँदा दर्शक गीतको लयमा झुमे। ‘तालको पानी माछीले खाने’ र ‘जालको माछा कोही गन्न सक्दैनन्’ जस्ता गीतमा दर्शकले स्वरमा स्वर मिलाए। ‘चरी मर्‍यो सिसैको गोलीले’ जस्ता गीतले पुराना सांगीतिक सम्झना ताजा बनायाे । ‘जीवन हो घामछाया, यो जिन्दगानी’ ले जीवनका सुखदुःख र अनुभूतिलाई संगीतसँग जोड्यो।

गीतको बीचबीचमा गुरुङले दर्शकसँग गरेको संवादले कार्यक्रमलाई अझ आत्मीय बनाएको थियो। उनले दर्शकलाई कलेज पढ्दाको उमेर सम्झिन आग्रह गर्दै आफ्नो जवानीका दिन स्मरण गरे। ‘म पनि कलेज पढ्दा कपाल कालो, दाह्री पनि कालै थियो, जवानी थियो,’ उनको यो भनाइले दर्शकदीर्घामा हाँसो र उत्साह फैलिएको थियो। गीतसँगै देशप्रेम र सामाजिक जागरणको सन्देश नेपथ्यको यो प्रस्तुति केवल मनोरञ्जनमा सीमित रहेन। अमृत गुरुङले गीतका माध्यमबाट देशप्रेम, सामाजिक उत्तरदायित्व, युवा पुस्ताको भविष्य र राष्ट्र निर्माणका विषयमा समेत दर्शकलाई सोच्न बाध्य बनाए।

‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ जस्ता देशभक्तिपूर्ण गीतले रंगशालामा राष्ट्रिय भावनाको तरंग पैदा गरेको थियो। राष्ट्रिय पहिचान, स्वाभिमान र देशप्रतिको मायाले भरिएका गीतमा दर्शकले उत्साहपूर्वक साथ दिएका थिए। गीत प्रस्तुतिका क्रममा गुरुङले देश बनाउने जिम्मेवारी सबै नागरिकको भएको उल्लेख गर्दै कर्मचारी, राजनीतिक दलका नेता, समाजका अगुवा र नीति निर्माताले आआफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्ने धारणा राखे।

‘आफ्नो देश भनेको आफ्नै हो, देशलाई शान्त र समृद्ध बनाऔँ,’ भन्ने भाव व्यक्त गर्दै उनले देशको विकासका लागि सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए। युवा पुस्तालाई लक्षित गर्दै उनले जीवनलाई धुवाँमा नउडाउन, कुलतबाट टाढा रहन, मेहनत गर्न, सिक्न र सिर्जनात्मक काममा लाग्न आग्रह गरे। गरिब तथा दुःखीलाई सकेको सहयोग गर्न र देशभित्रै सम्भावना खोज्नुपर्ने उनको भनाइ थियो।

‘युवापुस्ता विदेश जाने होइन, अरू देशका युवालाई नेपाल भित्र्याउने वातावरण सिर्जना गरौँ है….,’ उनले गरेको आग्रहले देशको विकास र युवाको भविष्यप्रतिको उनको चिन्ता झल्काउँथ्यो। उनले सगरमाथा, सुन्दर हिमाल, पहाड र तराई तथा लुम्बिनीजस्ता सम्पदाले सम्पन्न नेपाललाई अझ सुन्दर बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताए। देश घुम्न, आफ्नो भूगोल र सम्भावना बुझ्न तथा राष्ट्र निर्माणमा सहभागी हुन उनले युवालाई प्रेरित गरे । सत्ता र शक्तिमा पुगेपछि जिम्मेवारी बिर्सने प्रवृत्तिप्रति संकेत गर्दै उनले न्यायका पक्षमा आवाज उठाउन र सामाजिक विकृतिविरुद्ध सचेत हुन पनि आग्रह गरे। धनसम्पत्ति मात्रै पुण्य कमाउने आधार नभएको उल्लेख गर्दै दान, सहयोग र मानवीय सेवाको भावनालाई महत्त्व दिनुपर्ने उनको सन्देश थियो।

भाषा, संस्कृति साथै परम्परा जोगाउन आग्रह गर्दै गुरुङले नेपाली भाषा, मौलिक संस्कृति, संस्कार र परम्पराको संरक्षणमा पनि जोड दिए। ‘तिमीले बिर्से पनि मैले बिर्सेको छैन है….’ जस्ता गीतका भावसँगै उनले नेपाली समाजका मौलिक हाँसो, संस्कार, चलन र भाषालाई जोगाइराख्नुपर्ने सन्देश प्रवाह गरे। उनका अनुसार आधुनिकताको नाममा आफ्नो पहिचान र मौलिकता बिर्सनु हुँदैन। नयाँ पुस्ताले नेपाली भाषा, संस्कृति र परम्परालाई आत्मसात् गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्छ।
कार्यक्रमको अन्त्यतिर उनले दर्शकतिर निहालेर जीवनलाई सकारात्मक रूपमा लिन आग्रह गरे। दुई दिने जिन्दगीमा अनावश्यक चिन्ता र वैमनस्यभन्दा हाँसेर बाँच्न, एकअर्कालाई माया गर्न र मानवीय सम्बन्धलाई महत्त्व दिनुपर्ने उनको भावनाले रंगशालामा उपस्थित दर्शकलाई भावुकसमेत बनाएको थियो।

हजारौँ दर्शक, अविस्मरणीय सांगीतिक साँझ नेपथ्यको संगीतमा रमाउने इटहरी तथा आसपासका क्षेत्रका दर्शकका लागि यो कार्यक्रम विशेष प्रतीक्षाको विषय थियो। इटहरीसहित पूर्वी नेपालका विभिन्न स्थानबाट आएका संगीतप्रेमीको बाक्लो उपस्थितिले रंगशाला भरिभराउ बनेको थियो। दर्शकको उत्साह, गीतसँगै गुञ्जिएका सामूहिक स्वर र कलाकारसँगको आत्मीयताले कार्यक्रमलाई भव्य बनाएको थियो। एउटा कलाकारको प्रस्तुति हेर्न हजारौँ मानिस एकै ठाउँमा जुट्नु आफैँमा ठूलो सांगीतिक आकर्षण हो। त्यसमाथि कलाकारले गीतसँगै दिने सकारात्मक सन्देशले दर्शकको सोच र व्यवहारमा प्रभाव पार्न सक्छ। विशेषगरी युवा पुस्तालाई कुलतबाट टाढा रहन, मेहनत गर्न, सामाजिक सेवामा लाग्न र देशप्रति जिम्मेवार बन्न गरिएको आग्रहले कार्यक्रमको महत्त्वलाई थप फराकिलो बनाएको देखिन्थ्यो।

सांगीतिक प्रस्तुति सम्पन्न गर्दै गुरुङले इटहरीमा निमन्त्रणा गरेर दर्शकसँग भेटघाटको अवसर जुटाइदिएकोमा आयोजकलाई धन्यवाद दिए। दर्शकको माया र साथप्रति आभार व्यक्त गर्दै उनले संगीतमार्फत जोडिएको सम्बन्धलाई आत्मीय रूपमा स्मरण गरे। ‘नेपथ्य लाइभ इन कन्सर्ट इटहरी’ नाम दिइएको कार्यक्रम पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको मुख्य प्रायोजक सक इनर्जी ड्रिंक्स रहेको थियो। इटहरी उपमहानगरपालिकाको संरक्षण तथा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रवर्द्धनमा कार्यक्रम आयोजना गरिएको हो। आयोजक संस्थाका प्रबन्ध निर्देशक राजकुमार कार्कीले कार्यक्रमले मनोरञ्जनसँगै इटहरीलाई पूर्वी नेपालको प्रमुख सांगीतिक तथा सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपथ्यको पहिलो इटहरी आगमनले एउटा सांगीतिक कार्यक्रम मात्रै थपेन, हजारौँ दर्शकका मनमा अविस्मरणीय सम्झना पनि छाड्यो। गीत, संगीत, देशप्रेम, सामाजिक चेतना र नेपालीपनको सुन्दर संगम बनेको त्यो साँझले इटहरीको सांगीतिक इतिहासमा एउटा विशेष अध्याय थपेको छ। नेपथ्यका गीतमा झुमेको इटहरीले साँझ मनोरञ्जन मात्रै लिएन, देशलाई माया गर्ने, समाजका लागि केही गर्ने र आफ्नो पहिचान जोगाउने सन्देशसमेत आत्मसात् गर्ने अवसर पायो।

तपाईको प्रतिक्रिया

;