;

सुन्दरहरैँचा / धार्मिक आस्था, संस्कृति र सनातन परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मुक्तिनाथ धामबाट सुरु भएको गजेन्द्रमोक्ष–नारायण–मुक्तिनाथ भगवानको दिव्य रथयात्रालाई मोरङको सुन्दरहरैँचामा भव्य स्वागत गरिएको छ।

मंसिर १ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने घनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञको प्रचारप्रसार तथा धार्मिक जागरण फैलाउने उद्देश्यले कात्तिक ९ गते मुक्तिनाथ धामबाट सुरु भएको रथयात्रा पोखरा, काठमाडौंलगायत विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमण गर्दै आइतबार सुन्दरहरैँचा आइपुगेको हो।

पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका विभिन्न स्थानमा पुग्ने धार्मिक अभियानअन्तर्गत सुन्दरहरैँचा आइपुगेको दिव्य रथयात्रालाई स्थानीय भक्तजन तथा सर्वसाधारणले श्रद्धा र भक्तिभावसहित भव्य स्वागत गरेका थिए। भगवानको रथमा पुष्पगुच्छा अर्पण, पूजाआजा तथा दर्शन गर्दै स्थानीयले धार्मिक उत्साहका साथ स्वागत गरेका हुन्।

स्वागत समिति सुन्दरहरैँचाका संयोजक नारायण कार्कीका अनुसार रथयात्रालाई बलियाबाटै स्वागत गर्दै पाथिभरा मन्दिरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। त्यसपछि विराटचोकस्थित प्रणामी मन्दिरमा पूजाआजा तथा धार्मिक कार्यक्रम सम्पन्न गरी रथयात्रालाई बेलबारीतर्फ प्रस्थान गराइएको थियो।

रथयात्राका क्रममा विभिन्न स्थानमा भगवानको विशेष पूजाआजा, दर्शन तथा प्रसाद ग्रहण कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा सामाजिक अभियन्ता नेत्रप्रसाद चम्लागाईँ, प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्रीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, धार्मिक तथा सामाजिक व्यक्तित्व र स्थानीय भक्तजनको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार देशका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमण गर्ने क्रममा रहेको दिव्य रथयात्रा मंसिर १ गते पुनः मुक्तिनाथ धाम पुगेर महायज्ञको मूल समारोहमा सहभागी हुनेछ।

आयोजकले सम्पूर्ण भक्तजनलाई महायज्ञ तथा धार्मिक अभियानमा उत्साहपूर्वक सहभागी भई धार्मिक, सांस्कृतिक र आध्यात्मिक जागरणको अभियानलाई सफल बनाउन आग्रह गरेका छन्।

रथयात्राले देशका विभिन्न क्षेत्रका धार्मिक स्थल, समुदाय र भक्तजनलाई एउटै आध्यात्मिक सूत्रमा जोड्दै सनातन संस्कृति, धार्मिक एकता, सामाजिक सद्भाव र आध्यात्मिक चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएका छन्।

तपाईको प्रतिक्रिया

;