सुन्दरहरैँचा / नेपालीहरूको दोस्रो ठूलो राष्ट्रिय तथा सांस्कृतिक पर्व तिहार यस वर्ष कात्तिक २० गते शुक्रबारदेखि सुरु हुँदैछ।
उज्यालो, फूल, दीपावली, आपसी सद्भाव र पारिवारिक सम्बन्धको प्रतीकका रूपमा मनाइने तिहार कात्तिक २५ गते बुधबार भाइटीका लगाएसँगै सम्पन्न हुनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा प्रकाशित २०८३ सालको पात्रोअनुसार तिहारका अवसरमा कात्तिक २० गते धनतेरस, २१ गते काग तिहार, २२ गते कुकुर तिहार तथा लक्ष्मी पूजा, २३ गते गाई पूजा, २४ गते गोवर्धन पूजा तथा म्हः पूजा र २५ गते भाइटीका परेको छ।
#तिहारका मुख्य दिन र तिनको धार्मिक महत्त्व
कात्तिक २० गते शुक्रबार – धनतेरस : तिहारको प्रारम्भ धनतेरसबाट हुन्छ। यस दिन धनका देवता कुबेर र आरोग्यका देवता धन्वन्तरीको पूजा गर्ने धार्मिक परम्परा छ। घरमा नयाँ धातुका भाँडाकुँडा तथा गरगहना किन्ने र धनसम्पत्ति तथा सुखसमृद्धिको कामना गर्ने चलन छ।
कात्तिक २१ गते शनिबार – काग तिहार : कागलाई यमराजको सन्देशवाहकका रूपमा मानिन्छ। यस दिन कागलाई मीठा खानेकुरा दिएर पूजा गरिन्छ। कागले सन्देश ल्याउने र सम्भावित शुभाशुभ घटनाको सङ्केत दिने धार्मिक विश्वाससमेत रहेको छ। यस पर्वले प्रकृतिका सबै जीवप्रति सम्मान र सह अस्तित्वको सन्देश दिन्छ।
कात्तिक २२ गते आइतबार – कुकुर तिहार तथा लक्ष्मी पूजा : कुकुरलाई धर्म र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ। यस दिन कुकुरलाई माला लगाइदिने, टीका लगाउने र मीठा खानेकुरा खुवाएर पूजा गरिन्छ। हिन्दू धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको द्वारपालसमेत मानिन्छ।
सोही दिन साँझ धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ। घर, आँगन तथा बाटो सफा गरेर दीप, दियो र बत्ती बाल्ने, घरलाई फूलमालाले सजाउने तथा लक्ष्मीको स्वागत गर्ने परम्परा छ। यस दिनलाई तिहारको सबैभन्दा उज्यालो र आकर्षक दिनका रूपमा पनि लिइन्छ। साँझ देउसीभैलो खेल्ने परम्पराले सामाजिक सद्भाव र मनोरञ्जनलाई थप जीवन्त बनाउँछ।
कात्तिक २३ गते सोमबार – गाई पूजा : गाईलाई हिन्दू धर्ममा माता तथा लक्ष्मीको प्रतीकका रूपमा सम्मान गरिन्छ। गाईबाट प्राप्त हुने दूध, दही, घिउलगायत वस्तु धार्मिक तथा दैनिक जीवनमा उपयोगी हुने भएकाले यस दिन गाईलाई माला र टीका लगाएर पूजा गर्ने तथा मीठा खानेकुरा खुवाउने चलन छ।
कात्तिक २४ गते मंगलबार – गोवर्धन पूजा तथा म्हः पूजा : यस दिन गोरु तथा गोवर्धन पर्वतको पूजा गरिन्छ। भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीलाई इन्द्रको प्रकोपबाट बचाएको धार्मिक कथासँग यस पर्व जोडिएको छ। कृषि कर्ममा महत्त्वपूर्ण योगदान पुर्याउने गोरुको पूजा गर्नु यस दिनको अर्को विशेषता हो।
यसै दिन नेवार समुदायले म्हः पूजा अर्थात् आफ्नै शरीर तथा आत्माको पूजा गरी आत्मशुद्धि, आरोग्य, दीर्घायु र सुख समृद्धिको कामना गर्छन्। यसै दिनदेखि नेपाल संवत् ११४७ पनि प्रारम्भ हुन्छ।
कात्तिक २५ गते बुधबार – भाइटीका : तिहारको अन्तिम तथा विशेष दिन भाइटीका हो। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका, माला र पूजा सामग्रीले भाइटीका लगाइदिन्छन्। दाजुभाइले पनि दिदीबहिनी लाई उपहार तथा दक्षिणा दिएर सम्मान प्रकट गर्छन्।
धार्मिक कथनअनुसार यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा उनको घर पुगेका थिए। यमुनाले दाजुको पूजा, सत्कार र सम्मान गर्दै दीर्घायुको कामना गरेकी थिइन्। यही पौराणिक प्रसङ्गसँग भाइटीकाको परम्परा जोडिएको मानिन्छ।
धार्मिक र सांस्कृतिक महत्त्व तिहारलाई यमपञ्चक पनि भनिन्छ। यमराज र उनकी बहिनी यमुनासँग जोडिएको धार्मिक मान्यताअनुसार पाँच दिनसम्म मनाइने यस पर्वले मृत्यु र जीवन, प्रकृति र मानवबीचको सम्बन्धलाई समेत स्मरण गराउँछ।
तिहारको अर्को महत्त्वपूर्ण पक्ष देउसीभैलो हो। समूहमा भेला भएर घरघरमा देउसीभैलो खेल्ने, गीत गाउने, नाच्ने र शुभकामना साटासाट गर्ने परम्पराले सामाजिक एकता, आपसी सहयोग र सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै आएको छ। फूलैफूलको पर्वका रूपमा परिचित तिहारमा विशेषगरी सयपत्री, मखमली र गोदावरी फूलको प्रयोग गरिन्छ। घरआँगन सजाउने, रङ्गोली बनाउने, दियो बाल्ने र झिलिमिली बत्तीले बस्ती उज्यालो बनाउने चलनले यस पर्वलाई थप आकर्षक बनाउँछ।
समग्रमा तिहार केवल धार्मिक आस्थाको पर्व मात्र नभई प्रकृति, पशुपक्षी, कृषि, परिवार र समाजबीचको आत्मीय सम्बन्धलाई प्रगाढ बनाउने नेपाली मौलिक संस्कृति र परम्पराको महत्त्वपूर्ण उत्सव हो। आपसी प्रेम, सद्भाव, सम्मान र भाइचाराको सन्देश बोकेको यस पर्वले नेपाली समाजमा एकता र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न विशेष योगदान पुर्याउँदै आएको छ।





