;

सुन्दरहरैँचा / आवासका लागि सहयोग समूह (लुमन्ती) ले मोरङको सुन्दरहरैँचा नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन तथा निर्माण गरेका विकास निर्माणका योजनाको स्थलगत अनुगमन गरिएको छ।

लुमन्तीले स्थानीय समुदायको आवास, खानेपानी, सरसफाइ, पूर्वाधार विकास तथा महिला सशक्तीकरणका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमको प्रभावकारिता र उपलब्धिबारे जानकारी लिने उद्देश्यले अनुगमन गरिएको हो । अनुगमनका क्रममा लुमन्तीद्वारा निर्माण गरिएका आवास, खानेपानीका धारा निर्माण तथा हस्तान्तरण, ड्रेन निर्माण, पेबल्स बिछ्याउने कार्य, तटबन्ध निर्माण र सामुदायिक भवनको अवस्थाबारे स्थलगत निरीक्षण गरिएको थियो। त्यसैगरी, लुमन्तीद्वारा गठन गरिएको समावेशी महिला बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएका गतिविधि तथा संस्थागत प्रगतिबारे पनि जानकारी लिइएको थियो।

अनुगमन टोलीले निर्माण सम्पन्न भएका संरचनाको अवस्था, स्थानीय बासिन्दाले प्राप्त गरेको सुविधा तथा ती संरचनाको उपयोगिताबारे जानकारी लिएको थियो। यस्ता कार्यक्रमले स्थानीय समुदायको जीवनस्तर सुधार, आधारभूत आवश्यकताको परिपूर्ति तथा सामाजिक र आर्थिक सशक्तीकरणमा पुर्‍याएको योगदानको समेत समीक्षा गरिएको थियो।
अनुगमनमा लुमन्तीकी फिल्ड संयोजक लक्ष्मी राईसहित संस्थाका कर्मचारी, जागृत युवा समाजका प्रतिनिधि, समावेशी महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख, नगरउपप्रमुख तथा कार्यपालिका सदस्यहरूको सहभागिता रहेको थियो।

त्यसैगरी, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईलगायतको टोलीले समेत विभिन्न स्थानमा पुगेर लुमन्तीद्वारा सञ्चालित कार्यक्रम तथा निर्माण गरिएका संरचनाको अनुगमन गरेको थियो।
अनुगमनले स्थानीय तह, सामाजिक संस्था र समुदायबीचको सहकार्यमा सञ्चालित विकास निर्माणका कार्यक्रमको अवस्था बुझ्न तथा आगामी दिनमा थप प्रभावकारी ढङ्गले कार्यक्रम अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।अनुगमनमा नगर प्रमुख केदारप्रसाद गुरागाई, नगर उपप्रमुख अकली चाैधरी लगायत जनप्रतिनिधि साथै स्थानीयकाे सहभागिता रहेको थियाे ।

तपाईको प्रतिक्रिया

;