;

मणिराम दाहाल / सुन्दरहरैँचा

मोरङको सुन्दरहरैँचामा स्थानीय उत्पादन, व्यापार, पर्यटन तथा मौलिक खानाका परिकारको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ सम्पन्न भएको छ।

सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म सञ्चालन गर्ने लक्ष्य राखिएको महोत्सव बीचमा स्थगित भएपछि कात्तिक ६ गतेदेखि पुनः सञ्चालन गरिएको थियो।
महोत्सवको समापनका अवसरमा सङ्घका पूर्वअध्यक्ष तथा उद्योगी भोलेश्वर दुलालले स्थानीय उत्पादन, व्यवसाय र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै आगामी दिनमा फेस्टिभललाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताए। उनले महोत्सव सञ्चालनका क्रममा व्यवसायीलाई परेको असुविधाप्रति क्षमा माग्दै आगामी दिनमा आवश्यक समन्वय र व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा विभिन्न खानाका परिकार, व्यापारिक स्टल, स्थानीय उत्पादन तथा राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुतिहरू मुख्य आकर्षणका रूपमा रहेका थिए।

महोत्सव सञ्चालनका क्रममा उत्पन्न विवाद र प्रशासनिक हस्तक्षेपले कार्यक्रम प्रभावित भए पनि आयोजकले आगामी दिनमा महोत्सवलाई थप व्यवस्थित बनाउँदै सुन्दरहरैँचाको आर्थिक, व्यावसायिक तथा पर्यटकीय पहिचान विस्तार गर्ने लक्ष्य लिएको सुन्दरहरैँचा उवासका अध्यक्ष नारायण कार्कीले बताए ।

आगामी दिनमा स्थानीय उद्योग, व्यापार, कृषि उत्पादन र पर्यटनलाई जोड्दै महोत्सवलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

;