;

सुन्दरहरैँचा / सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले दसैँको अवसरमा शुभकामना आदानप्रदान तथा टीका–जमरा कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीका सञ्चालक समिति, कर्मचारी तथा अन्य सरोकारवालाबीच आत्मीयता, सद्भाव र सहकार्यको सन्देशसहित शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद महतोले कामधेनु सहकारीले कृषि तथा दुग्ध उत्पादनको क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै प्रदेश सरकारले कृषि क्षेत्रको विकास र किसानको हितका लागि आवश्यक सहजीकरण गर्ने बताए। दुग्ध उत्पादन तथा पशुपालनलाई व्यवस्थित र व्यावसायिक बनाउन सहकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहकारीका लेखा संयोजक देवीप्रसाद भट्टराईले दसैँले सहकारी परिवारबीच आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले चाडपर्वले सञ्चालक समिति र कर्मचारीबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुका साथै संस्थाको उद्देश्य प्राप्तिका लागि मिलेर अघि बढ्ने प्रेरणा दिने बताए।

सहकारीका अध्यक्ष यादव ढकालले संस्थाले दुग्ध उत्पादन तथा पशुपालन क्षेत्रको विकाससँगै किसानको हितलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउन सहकारीले आगामी दिनमा पनि आफ्नो भूमिका प्रभावकारी बनाउँदै लैजाने उनको भनाइ थियो।

कार्यक्रममा मन्त्री महतोले सहकारीका अध्यक्ष ढकालसहित सञ्चालक समिति तथा कर्मचारीलाई टीका–जमरा लगाएर दसैँको शुभकामना दिएका थिए। अध्यक्ष ढकालले पनि सहकारी परिवारका सदस्यलाई टीका–जमरा लगाइदिँदै शुभकामना आदानप्रदान गरेका थिए।

सोही अवसरमा सहकारीको कार्यक्षेत्रअन्तर्गत विभिन्न जिल्लाका १९ पालिकामा कार्यरत पशु तथा भेटेरिनरी प्राविधिकलाई नियुक्तिपत्रसमेत वितरण गरिएको थियो।

दसैँको अवसरमा आयोजित कार्यक्रमले सहकारी परिवारबीच आपसी एकता, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्नुका साथै कृषि तथा दुग्ध क्षेत्रको विकासमा सहकारी र प्रदेश सरकारबीच समन्वयको आवश्यकतालाई समेत जोड दिएको छ।

तपाईको प्रतिक्रिया

;